मुम्बईमाथि राजस्थानको सानदार जित

२०८१ बैशाख ११, मंगलवार

काठमाडौं : तीव्र गतिका बलर सन्दीप शर्माको पाँच विकेट र युवा ओपनर यशस्वी जैसवालको शतकमा राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा मुम्बई इन्डियन्समाथि ९ विकेटको सानदार जित हात पारेको छ ।

सातौं जितका साथ राजस्थान शीर्षस्थान कायमै राख्दै प्लेअफ नजिक पुगेको छ । १८० रनको लक्ष्य राजस्थानले १८.४ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । ओपनर यशस्वी जैसवालले ६० बलमा ९ चौका र ७ छक्कासहित १०४ रनको अविजित इनिङ खेले । सुरुवातमा लय समाउन संघर्ष गरेका जैसवाललाई यो शतकले ठूलो राहत दिनेछ । कप्तान सञ्जु स्यामसन २८ बलमा २ चौका र २ छक्कासहित ३८ रन बनाए । जस बटलर २५ बलमा ६ चौकासहित ३५ रन जोडे । मुम्बईको एक मात्रै विकेट स्पिनर पियुष चावलाले लिए ।

त्यसअघि राजस्थानको घरेलु मैदान जयपुरमा टस जितेर पहिला ब्याटिङ रोजेको मुम्बईले २० ओभरमा ९ विकेट गुमाउँदै १७९ रन बनाएको थियो । मुम्बईका तिलक बर्माले ४५ बलमा ५ चौका र ३ छक्कासहित ६५ रन बनाए । नेहाल बढेराले २४ बलमा ३ चौका र ४ छक्कासहित ४९ रन बनाए । एक समय ७.३ ओभरमा ५२–४को अवस्थामा पुगेको मुम्बईलाई नेहाल र तिलकले ९९ रनको साझेदारी गरेका थिए ।

ओपनर रोहित शर्मा ६, ईशान किशन शून्य, सूयकुमार यादव १०, मोहम्मद नाबी २३ र हार्दिक पान्ड्या १० रनमा आउट भए । राजस्थानका सन्दीप शर्माले ४ ओभरमा १८ रन खर्चेर ५ विकेट लिए । ट्रेन्ट बोल्टले ४ ओभरमा ३२ रन खर्चेर २, आवेश खान र युजभेन्द्र चहलले १–१ विकेट लिए ।

राजस्थान ८ खेलमा ७ मा जित र १ मा हारसहित १४ अंकका साथ शीर्ष स्थानमा छ । मुम्बई ८ खेलमा ३ मा जितसहित सातौं स्थानमा छ । मुम्बई प्लेअफमा पुग्न बाँकी ६ खेल नै जित्नुपर्ने हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार