श्रीमतीको हत्या गरी घरमै खाल्डो खनेर गाडे, ६ महिनापछि बाहिरियो घटना

२०८१ बैशाख ११, मंगलवार

जनकपुरधाम : धनुषामा श्रीमतीको हत्या गरेर एक व्यक्तिले घरमै खाल्डो खनेर पुरेको घटना ६ महिनापछि बाहिरिएको छ। शहिदनगर नगरपालिका वडा नम्बर ७ स्थित नेमुवा टोल बस्ने ४५ वर्षीया रेखा देवी ठाकुरलाई उनका ५५ वर्षीय श्रीमान सुदिप ठाकुर सोनारले हत्या गरेको घटना बाहिरिएको प्रहरीले जनाएको छ। उक्त घटनाबारे सुदिपले उनका ६० वर्षीय दाइ उदित ठाकुर सोनारलाई समेत बताएका थिए।

गत कात्तिक १० गते राति श्रीमतीको हत्या गरी सुदिप र उनका दाइ उदित भोलिपल्ट भारतमा कमाउन गएका थिए। तर शव घरमै गाडेको चिन्ताले त्यहाँ उनीहरूलाई काम गर्न मन लागेन। हत्याको २० दिनपछि घर फर्केर दुबै जनाले मिली घरभित्र गाडिएको शव निकालेर टुक्रा पारी अन्य ठाउँमा फालेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी रञ्जन अवाले बताए।

‘दाजुभाइ सँगै घर फर्केर आएपछि लास गाडेको ठाउँमा जाँदा गन्ध आएको थियो । त्यसपछि उनीहरू झनै आत्तिए। राति १२ बजे खाल्डो खनेर लास निकालेर काट्दै टुक्रा टुक्रा पारी २ वटा बोरामा राखेर राखेछन्,’ डिएसपी अवाले भने, ‘एउटा बोरा दाइले अर्को भाइले बोकेर नेमुवाटोल धबौली कट्टी सिँचाइको पारी पूर्व कट्टी खोल्सीमा गएर त्यहाँ बोराबाट लासको टुक्रा निकालेर छरेर फालेका थिए।’

घटनास्थलबाट शवको कंकाल तथा हड्डीहरू समेत फेला परेको उनले बताए। घटनामा प्रयोग गरिएका बन्चरो र कोदालो समेत प्रहरीले बरामद गरेको छ। यहीँ आइतबार रेखाको हत्या आरोपी सुदिप र उदित दुबै जना दाजुभाइ घरबाटै पक्राउ परेपछि घटनाको रहस्य खुलेको हो। गत कात्तिक १० गतेबाट रेखा बेपत्ता भएकी थिइन्। आमा बेपत्ता भएको भन्दै उनका छोराले खोजी गरिदिन प्रहरीलाई खबर गरेका थिए।

गत कात्तिक १० गते राति श्रीमान र श्रीमती दुई जना मात्रै घरमा थिए। त्यसबेला उनीहरूबीच विवाद भएको थियो। प्रहरीका अनुसार परपुरूषसँग यौन सम्बन्धको आशंकामा दुबै जनाबीच त्यसअघि समेत पटक पटक विवाद भइरहन्थ्यो। ‘दुबै जनाबीच झगडा हुँदा रिसको झोंकमा श्रीमानले बन्चरोको पछाडिको भागले टाउकोमा प्रहार गरेपछि श्रीमतीको ठाउँका ठाउँ मृत्यु भयो,’ डिएसपी अवाले भने। घटनाको भोलिपल्ट बिहान सुदिपले आफ्नो घरभित्रै ५ फिट जति गहिरो खाल्डो खनेर श्रीमतीको शव पुरेका थिए।

घटनाबारे दाजु उदितलाई उनले बताएका थिए। २० दिनपछि घर फर्किएपछि उनीहरूले खोल्सामा शवलाई टुक्रा पारेर फाले। दुबै दाजुभाइले मिलेरै खाल्डो पुरी सबै कोठाहरू राम्रोसँग लिपपोत गरी नुहाईधुवाई गरी भोलिपल्ट भारतमा रहेको आफ्नो बहिनीको घर पुगे। त्यहाँबाट भारतको जयनगर रेल्वे स्टेसन पुगेर रेल चढेर उनीहरू दिल्ली पुगे। त्यहाँ उनीहरू भाडा बनाउने कम्पनीमा काम गर्न थाले। तर त्यहाँ पनि उनीहरूलाई काम गर्न मन नलागेपछि दुबै दाजुभाइ डेढ महिनामै फर्के। उनीहरूले भारतको नेपाल बोर्डर छेउमा काठको काम गर्न थाले।

बाहिर बस्दै आएका सुदिपका छोराबुहारी पनि गत मंसिर ७ गते घर आइपुगे। घरमा उनीहरूले ताल्चा लागेको देखेपछि आमाबुवाको बारेमा छिमेकीहरूसँग सोधे। तिनीहरूले दुबै जना छोरीहरूको घरमा गएको हुन सक्ने जबाफ दिए। सुदिप र उनकी श्रीमती त्यसअघि समेत छोरीहरूको घरमा सँगै बस्दै आएका थिए। ‘घरको ढोका खोली हेर्दा बुवाआमा नै नबसकेको अवस्थामा घर लितपोत गरेको देखिएपछि छोराबुहारीलाई शंका लाग्यो। उनीहरूले प्रहरी बोलाई नयाँ लिपेको ठाउँमा खनेर हेरे तर त्यहाँ केही फेला परेनछ। आमाबुवा भारतमै छोरीको घरमा होला लागेर उनीहरूले पछि वास्ता पनि गरेनन्,’ डिएसपी अवाले थपे।

गत आइतबार बुवा र काकालाई सँगै भेट्दा उनका छोराले आमाको बारेमा सोधेका थिए। तर बुवाले केही नबोलेपछि शंका लाग्दा उनका छोराले नै प्रहरीलाई खबर गरेका थिए। इलाका प्रहरी कार्यालय यदुकुहाबाट खटिएको प्रहरी टोलीले दुबै जनालाई नियन्त्रणमा लियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार