जनकपुरधाम : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताएका छन् ।
जनकपुरधाम विमानस्थलमा आज साँझ सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्नुहुँदै संयोजक दाहालले आफ्नो पार्टी र नेकपा (एमाले)सँग सहकार्यको प्रक्रिया औपचारिक रूपमा अघि बढेको उल्लेख गरे । तीन दलबीचको समझदारी अझै अन्तिम निष्कर्षमा नपुगेको बताउदै संयोजक दाहालले प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा नेपाली कांग्रेससँग पनि छलफल भइरहेको बताए ।
नेकपाको मधेस प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुन जनकपुरधाम आएका संयोजक दाहालले पार्टीको प्रशिक्षण र सङ्गठन सुदृढीकरणलाई प्राथमिकताका साथ अघि बढाइने उल्लेख गरे ।
नेकपाको मधेस प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई बुधबार साउन ६ गते पार्टीका संयोजक दाहाल, सहसंयोजक माधवकुमार नेपाल र वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।





