काठमाडौँ : नेकपा एमालेका प्रमुच सचेतक पदम गिरीले नागरिकता विधेयक प्रमाणीकरण गरेकोमा राष्ट्रपति रामचन्द्र पौडेलमाथि व्यंग्यात्मक टिप्पणी गरेका छन्।
गिरीले आइतबार प्रतिनिधिसभा बैठकमा मृत भइसकेको विधेयक खोजीखोजी प्रमाणीकरण गर्ने क्रममा राष्ट्रपति रामचन्द्र पौडेलले २०५७ सालमा राजा वीरेन्द्रले लालमोहर नलगाएको विधेयक पनि खोजेर प्रमाणीकरण गर्ने खतरा बढेको व्यंग्यात्मक टिप्पणी गरे।
गिरीले राजनीतिक रुपमा लगाएको व्यंग्यात्मक आरोपले करिब २३ वर्षअघि तत्कालीन राजा वीरेन्द्रले लालमोहर नलगाइ सर्वोच्च अदालत पठाएको नागरिकता विधेयकलाई पुनः स्मरण गराएको छ।
९ महिनाअघि तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले देश हितविपरीतका कतिपय प्रावधान रहेको भन्दै नागरिकता विधेयक प्रमाणीकरण नगरे जस्तै २०५७ सालमा तत्कालीन राजा वीरेन्द्रले संसदबाट पारित नागरिकता विधेयकमा लालमोहर लगाउन अस्वीकार गरेका थिए।
तत्कालीन राष्ट्रपति भण्डारीले स्व. राजा वीरेन्द्रले चालेको कदमलाई समेत हेरेर नागरिकतासम्बन्धी विधेयक एकपटक ९ बुँदे सुझावसहित फिर्ता गरेकी थिइन्।
सदनले ती सुझावलाई बेवास्ता गर्दै इगोको रुपमा लिएर जस्ताको तस्तै पारित गरेर पुनः प्रमाणीकरणका लागि पठाएपछि भण्डारीले आफू राष्ट्रपति रहँदासम्म त्यसलाई प्रमाणीकरण गरिनन्।
संविधानबमोजिम १५ दिनभित्र प्रमाणीकरण नभएपछि सो विधेयक कानून बन्न सकेन र संविधानविद्हरुले १५ दिनपछि त्यो निष्क्रिय भएको बताएका छन्।
तर, सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सोही विधेयक तत्कालीन सभामुख अग्नि सापकोटाको हस्ताक्षर रहेको र राष्ट्रपति भण्डारीले हस्ताक्षर नगरेको ढाँचामा केरमेट गरेर आफ्नो नाम राखी प्रमाणीकरण गरेका छन्।





