निदाएका टोपबहादुर बहसमा दोषी देखाइएपछि जर्‍याकजुरुक उठे

२०८० जेष्ठ २९, सोमबार

काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा सोमबारको बहसमा इजलास कक्षमा तनावरहित देखिन्थे, प्रतिवादी टोपबहादुर रायमाझी । आफ्नो तर्फबाट लामो बहस हुँदा दिक्क उनी अरुकाे बहसमा  निदाउने गरिरहेका छन् ।
 
शुक्रबार उनको पक्षमा बहस हुनुअघिसम्म डायरीमा टिपोट गर्थे । त्यसपछिका आइतबार र सोमबारका बहसमा उनको खल्तीमा भेटिने डायरी देखिएन । इजलास कक्षमा सुरुको दिनदेखि उनले आफ्नो सिट फेरेका छैनन् । सोमबारको बहसमा पनि उनी निदाए । सवा २ बजेको टि-ब्रेक अघि उनी अधिकांश समय निदाएर बसे । खाजा खाएपछि उनी फ्रेस भएर इजलास कक्षमा बसे । बस्दा पनि उनी हात चलमलाइरहन्थे । घरि घरि औँला चलाइरहन्थे । घरिघरि नङ कोट्याइरहन्थे । 

त्यतिबेला प्रतिवादी रामशरण केसीको तर्फबाट बहस भैरहेको थियो । खाजा खाएर ढिला इजलास कक्षमा प्रवेश गरे, रायमाझी । त्यतिबेला अरुण ज्ञवालीले बहस गरिरहेका थिए । ज्ञवालीपछि वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने बहस गर्न गए । केसीको पक्षबाट बहस गरेको भए पनि उनले अर्का प्रतिवादी टेकनाथ रिजालको बयानको सहारा लिएर केसीको बचाउमा उत्रिए । 

न्यायाधीश प्रेमप्रसाद न्यौपानेले पटक पटक सन्दर्भमा आउन सचेत गराइरहेका थिए । उनको बहस रिजालको तर्फबाट हो कि झैँ लाग्ने थियो । तर, कुरा घुमाएर उनी रिजालले ‘नेपाल सरकारको माथिल्लो निकायबाट भएको’ बयानलाई पुष्टि गर्दै केसी सामान्य मान्छे भएको तर्क गर्दै थिए । 

दर्शकदिर्घामा रहेका रायमाझी खाजा खाएपछि फ्रेस थिए । न्यौपानेले मुद्दाको केन्द्रमा रिजाल रहेको उनको बयानले धेरै कुरा खुलाएको, काठमाडौं आएपछि रायमाझीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गराएको, ‘प्रचण्डले जे गर्नुहुन्छ रायमाझीले गर्नुहुन्छ’ भनेपछि आफूले पाउने मासिक १ लाखको सुविधासमेत पुनः प्राप्ति गरेको तर्क पेस गरे । 

त्यसपछि रायमाझी जर्‍याकजुरुक भए । न्यौपानेको बहस एकटकले सुनिरहेका रायमाझी गम्भीर देखिन्थे । न्यौपानेले बहस सकाएपछि उनीसँगैको बेन्चमा बसेका अर्का प्रतिवादी बालकृष्ण खाँणले पानी पिए । रायमाझीले पनि सो पानी मागेर खाए । अनि लामो सास ताने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार