काठमाडौं : तारागाउँ विकास समिति रिजेन्सी होटलले पशुपति क्षेत्र विकास कोषको १७ रोपनी जग्गा न्यून भाडामा प्रयोग गर्ने गरेको पाइएको छ । कोषका अनुसार होटलले १७ रोपनी जग्गा प्रयोग गरेबापत वार्षिक १६ मुरी ८ पाथी ५ माना २ मुट्ठी धानबराबर ४९ हजार २ सय ९८ रुपैयाँ दिने गरेको छ । कोषले भाडा बढाउन खोजेको हो तर हायातले बढाउन मानेको छैन ।
मंगलबार राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिमा कोषका पदाधिकारीले १७ रोपनी भाडामा दिएबापत ४९ हजार पाउने गरेको बताउँदा समिति सदस्यहरू नै आश्चर्यमा परे ।
‘१७ रोपनीको १६ मुरी राखिएको रहेछ । काठमाडौंको जग्गा कति महँगो छ । यो १६ मुरीले वर्षभरि १७ रोपनी जग्गा प्रयोग गर्न पाइन्छ भनेर भनिसाध्य भएन । यस्तो विषयमा एक्सन किन नगरेको हो ? दबाब भएर हो वा नभ्याएर हो ?,’ समिति सदस्य कुमार दसौदीले प्रश्न गरे ।
लगत्तै जवाफ दिएका पशुपति विकास कोषका कार्यकारी निर्देशकले बाध्यता रहेको बताए । ‘बाध्यतामा छौँ । १ रुपैयाँ बढायो कि तुरुन्तै जुलुस लिएर आउनुहुन्छ,’ कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले भने ।
तर, त्रिभुवन विमानस्थलले भने पशुपति विकास कोषको ११ सय ६१ रोपनी १४ आना ३ पैसा जग्गा प्रयोग गरेको छ । उसले उक्त जग्गा प्रयोग गरेबापत प्रतिरोपनी १ मुरी ३ पाथीबराबर वार्षिक १ करोड रुपैयाँ दिँदै आएको छ । पशुपतिको जग्गाको विषयमा लामो समयदेखि विवाद हुँदै आएको छ ।
हाल मारवाडी सेवा समाज र पशुपति विकास कोषबीच पनि जग्गाको विवाद छ । मारवाडी सेवा समाजले पशुपतिको जग्गा अतिक्रमण गरेको कोषको दाबी छ । गाईवस्तुलाई घाँस खुवाउनका लागि सन् १९९७ मा मारवाडी सेवा समाजलाई १ रोपनी २ आना प्रयोग गर्न दिएकोमा हाल अस्पतालदेखि, धर्मशालालगायतका अनेक संरचना बनाएर जग्गा अतिक्रमण गरिरहेको कोषको आरोप छ । जग्गा प्रयोग गरी विभिन्न संरचना निर्माण गरी भाडामा लगाएर मारवाडी सेवा समितिले मोटो रकम असुल गर्ने गरेको दाबी कोषको छ ।
‘जग्गाको मुख्य समस्या मारवाडीसँग हो । कोषको जग्गा कोषले नै प्रयोग गर्न पाएको छैन,’ निर्देशक खतिवडाले भने । कोषका अनुसार अतिक्रमणमा परेको जग्गाको खोजी भइरहेको बताएको छ ।
यस विषयमा संसदीय समितिले पनि चासो दिएको छ । र, संस्कृति, पर्यटन, भूमि मन्त्रालयसँग थप छलफल गरिने समिति सभापति दिलकुमारी रावल थापाले बताइन् । ‘पशुपति विकास कोषलाई सुधार गर्नुपर्ने देखिएको छ । जग्गा विवादको विषयमा पर्यटन र भूमि मन्त्रालयसँग छलफल गर्ने निष्कर्ष निकालेका छौँ,’ उनले भनिन् ।शिलापत्र





