विराटनगर : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री तथा प्रवक्ता डा.मुकुल ढकालले आफ्नो पार्टीको प्रतिनिधित्व नहुँदा राष्ट्रियसभा मृत जस्तै बनेको दाबी गरेका छन् । विराटनगरस्थित आफ्नै निवासमा आज संचारकर्मीहरुसँग कुरा गर्दै ढकालले यस्तो बताएका हुन् । उनले मिटरब्याज सम्बन्धी विधेयक राष्ट्रियसभाले छलफलमै नराख्नुले त्यही देखिएको दाबी गरे ।
‘प्रतिनिधिसभामा हाम्रो पार्टी थियो र मिटरब्याज सम्बन्धी कानून पारित भयो । राष्ट्रियसभामा बाध्य बनाउन अर्को फोर्स नभएको कारण त्यहाँ रोकियो,’ उनले भने, ‘त्यहाँ रास्वपा नभएकै कारण राष्ट्रियसभा मृतजस्तो देखियो नि त । प्रतिनिधिसभा त अलि जीवन्त देखिएको छ ।’
उनले राष्ट्रियसभा संविधानले परिकल्पना गरेजस्तो प्रभावकारी नदेखिएको पनि दाबी गरे । ‘अन्य दलका सांसद र नेताहरुले पनि भन्नुभएको छ कि रास्वपाको उपस्थितिले प्रतिनिधिसभा जीवन्त भएको छ,’ ढकालले भने ।
पछिल्लो पटक सरकारले ल्याएको मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० लाई जसरी पनि फेल गराउने उनले बताए । ‘सरकारले राजनीतिलाई अपराधीकरण र अपराधिकरणलाई राजनीतिकरण गर्नेगरी दफा छिराएको छ । हामी त्यसको विरोध गर्छौंं । यसलाई फेल गराउनु अहिले सही कुरा हो,’ उनले भने, ‘यो पारित गर्न दिँदैनौँ । सदनमा यसको कारबाही कसरी हुन्छ । त्यसबेलासम्म सदनदेखि सडकसम्म जनतालाई सुसूचित गराउँछौं । सरकारलाई बाध्य बनाएर विधेयकको विवादास्पद दफा हटाउन लगाउँछौँ ।’
उनले अहिले राजनीतिक पार्टीहरू आफ्नो पार्टीको लाइनमा आइरहेको दाबी पनि गरे । ‘मिटरब्याज सम्बन्धी विधेयक राम्रो भएकै कारण सर्वसम्मत पारित भयो । अरू पार्टीपनि हाम्रो एजेण्डामा आएको देखियो । हिजोको दिनमा अन्य संसदमा प्रतिपक्षले प्रतिपक्ष भएपछि समर्थन गर्न मिल्दै मिल्दैन भनेर विरोधमा हाल्थे । तर, अहिले हाम्रो लाइनमा आए,’ ढकालले भने, ‘हामी ढुलमुले भएको होइन । देख्नेहरूले बुझ्न नसकेको हो । नयाँ राजनीतिक शक्तिलाई बुझ्न नसकेको हो विश्लेषकहरूले पनि । आम जनताको समर्थन त व्यापक छ ।’
अर्को प्रसङ्गमा उनले आगामी ८४ सालभन्दा अगाडि नै पार्टी सदस्यता १० लाखसम्म पुर्याउने दाबी गरे । ‘सदस्यको रूपमा हामी देशकै सबैभन्दा ठुलो पार्टी बनाउने भनेका छौँ । ८४ सालअगाडि नै ८–१० लाख सदस्य कटाउने लक्ष्य छ,’ उनले भने ।
उनले अन्य पार्टीबाट रास्वपामा आएका अवसरवादीलाई रोक्ने पनि बताए । ‘अन्य पार्टीबाट अवसरकै लागि आउनेहरुलाई रोक्नु पर्छ । जनताको लागि केही गर्छु भन्नेलाई ठाउँ दिनुपर्छ भन्ने हो,’ ढकालले भने, ‘पार्टीमा स्वतन्त्र भन्ने व्यक्तिहरूलाई नै पहिलो प्राथमिकता दिएका छौँ । तर, त्यतिले मात्रै नपुग्दो रहेछ । राजनीतिको खाली ठाउँमा फूलफिल गर्नका लागि कतिपय पार्टीका योग्य व्यक्तिहरूलाई ल्याउनु पर्ने देखियो । जान्नेलाई छान्ने भनेका छौँ हामीले ।’
अरू पार्टीबाट आउनेहरुले समस्यामा पार्ने अवस्था देखिरहेको बताउँदै उनले भने, ‘यहाँ आएर पनि उहाँहरुले राजनीतिलाई भन्दा लाजनीतिलाई निरन्तरता दिने हो कि भन्ने महसुस गरेका छौँ । यसलाई आवश्यक प्रक्रिया पुरा गरेर पुरानैमा फर्काउने या यहाँ बस्ने हो पार्टीको योजना र नीति अनुसार जान्नेलाई छान्ने अवधारणा मानेर बस्नुपर्छ ।’
उनले आगामी २०८४ सालको निर्वाचनमा मोरङको क्षेत्र नम्बर ४ बाट चुनाव लड्ने घोषणा पनि गरेका छन् । ‘मोरङ ४ बाहेकका अन्य क्षेत्रबाट सम्भवत म निर्वाचन लड्दिन । कुनै विशेष कारण बाहेक मेरो राजनीतिक क्षेत्र यही हो,’ उनले भने, ‘हामीले व्यक्तिगत इच्छा अनुसार प्राइमरी इलेक्सन मार्फत जाने हो । तर, मोरङ ४ मा पार्टीभित्रबाट अरू व्यक्तिहरू सम्भवत नआउनुहोला ।’
गत निर्वाचनमा पार्टीलाई क्याम्पेन गर्नका लागि र संस्थालाई चलाउनका लागि चुनाव नलडेको उनले बताए । आफू जन्मे हुर्केको ठाउँ भएकै कारण मोरङ ४ लाई नै रोजेको उनले बताए ।