रौतहट : रौतहटको सदरमुकाम गौरमा एक युवकलाई केही स्थानीयहरुले बिजुलीको पोलमा बाँधेर वडाध्यक्षकै अगाडि निर्घात कुटपिट गरेको घटना बाहिरिएको छ । गौर नगरपालिका–३ का २० वर्षीय प्रिन्स अन्सारीलाई स्थानीयहरूले वडाअध्यक्ष अब्दुल ताहिरकै अगाडि बाँधेर कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
घटना सार्वजनिक भएपछि मौखिक उजुरीका आधारमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । भिडियोमा अन्सारीलाई पोलमा बाँधेर मुक्का हानिरहेको दृश्य देखिन्छ ।
गत शुक्रबार जुम्माको नेमाज सकेर आइसक्रिम खाने विषयमा अन्सारी र केही स्थानीयबीच सामान्य विवाद भएको थियो । त्यही विषयलाई लिएर रिसईबी साँध्न उनलाई घरबाट बाहिर निकालेर बिजुलीको पोलमा बाँधी स्थानीयहरूले कुटपिट गरेका हुन् ।
स्थानीय मोहम्मद साजिद, उनका बुबा, भाई, बतहा र आश महृम्मद कुटपिटमा संलग्न भएको भिडियोमा दृश्य छ । जहाँ उनीहरूले अन्सारीलाई प्लास्टिकको पाइप, मुक्का, लाठी, लात्तीले मरणासन्न हुने गरी पिटेको पीडित युवकका दाजु इलियास अन्सारीले बताए ।
‘भाइलाई पोलमा बाँधेर कुटपिट गर्नेलाई कारबाही होस्,’ उनले भने, ‘मेरो भाइलाई पशु जस्तै बाँधेर आक्रमण गरिएको छ । घटनामा संलग्न सबैलाई पक्राउ गरी कारबाहीको माग गरेको छु ।’





