लुटपाटको प्रतिकार गर्दा रोहितको गोली हानेर हत्या

२०८० श्रावण १७, बुधबार

काठमाडौँ : विराटनगर-५ का २८ वर्षीय रोहित चौधरीको हत्या आरोपमा पक्राउ परेका दुई जनालाई प्रहरीले सार्वजानिक गरेको छ। पक्राउ परेकाहरू मोरङको लेटाङ नगरपालिका-१ का ३५ वर्षीय पर्वत भन्ने दिपक तिमिल्सिना र धरान उपमहानगरपालिका-१४ का ३४ वर्षीय अनसन तामाङ हुन्।

उनीहरूलाई कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ। पक्राउ परेका मध्ये दिपक घटनाका मुख्य अभियुक्त हुन्।

उनैले रोहितलाई सुनसरी धरान–इटहरी सडकखण्डको सेउती पुल नजिकैको जंगलमा साउन ५ गते गोली प्रहार गरेका थिए। हो-हल्ला गर्दै प्रतिकार गरेपछि रोहितलाई लुटेरा समूह मध्येका मुख्य नाइके दिपकले गोली प्रहार गरेको अनुसन्धानबाट खुलेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका डिआइजी राजेशनाथ बास्तोलाले जानकारी दिए।

‘खुकुरी गर्धनमा र पेस्तोल छातीमा देखाएर रोहितसँग गएकी किशोरीको तीन आनाको सुनको सिक्री, मोबाइल र लेडिज झोला लुटेको र त्यसपछि रोहितले होहल्ला गर्दै प्रतिकार गर्न खोजेपछि गोली चलाएको देखिएको छ,’ घटनाको अनुसन्धान गरेका संघीय प्रहरी कार्यालय धरानका एसपी भीम दाहालले भने।

उनीहरूले गोली हानेर पानमारा जंगलमा पसेको उनले बताए। ‘रोहित र किशोरी सेउती पुलको जंगल छिरेको १० मिनेट भित्रमा लुटपाट गरी गोली हानेर लुटेरा समूह पानमारा जाने जंगलतिर भागेको देखिएको छ,’ उनले भने। रोहितको हत्या गर्नुको मुख्य कारण लुटपाट रहेको अनुसन्धानबाट खुलेको उनले बताए। ‘हामीले सबै कोणबाट सुक्ष्म तरिकाले अनुसन्धान गरेका थियौ,’ उनले भने, ‘हत्या गरिनुको कारण लुटपाट नै रहेको देखियो।’

लुटपाट गरी हत्या गर्ने समूहमा तीन जना रहेको खुलेको छ। अहिले दुई जना पक्राउ परेका छन्। एक जना फरार रहेको डिआइजी बास्तोलाले बताए। पक्राउ परेका समूह यसअघि विभिन्न अपराधमा कैद भुक्तान गरी छुटेका अभियुक्त छन्।

पक्राउ परेका दिपक जबरजस्ती करणी मुद्दमा १० वर्ष कैद भुक्तान गरी दुई महिना अगाडि छुटेका हुन्। तामाङ लागूऔषध मुद्दामा ६ महिना कैद भुक्तान गरी २ वर्ष अगाडि छुटेका थिए। उनीहरूले यसअघि पनि चार वटा लुटपाटको घटनामा संलग्न भएको अनुसन्धानबाट खुलेको डिआइजी बास्तोलाले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार