काठमाडौँ : क्रिकेटर सन्दीप लामिछानेबाट पीडित ‘गौशाला २६’ ले चिकित्सकको प्रेस्क्रिप्सनविपरीत औषधि सेवन गर्दा बिरामी भएपछि उपचारका लागि अस्पताल भर्ना भएकी छन् ।
तीन दिनबाट पेनिक अट्याक आएपछि निको हुनका लागि ‘गौशाला २६’ ले एकैचोटि तोकिएको मात्राभन्दा धेरै औषधि सेवन गरेको बुझिएको काठमाडौं प्रहरी प्रवक्ता एसपी कुमोद ढुंगेलले बताए ।
एसपी ढुंगेलका अनुसार उनलाई अहिले नर्भिक अस्पतालमा उपचार गरिएको छ । चिकित्सकको भनाइ उद्धृत गर्दै ढुंगेलले अहिले बिरामीको अवस्था खतरामुक्त रहेको बताए ।
‘गौशाला २६ ले तोकिएको मात्राभन्दा बढी औषधि सेवन गरेका कारण अस्वस्थ भइ उनलाई अहिले उपचारका क्रममा नर्भिक अस्पतालमा भर्ना गरिएको छ । पीडितको स्वास्थ्य अवस्था अहिले खतरामुक्त रहेको चिकित्सकले जानकारी दिनुभएको छ,’ एसपी ढुंगेलले भने ।





