प्रधानमन्त्री प्रचण्ड धनगढी जाने कार्यक्रम स्थगित

२०८० भाद्र १३, बुधबार

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित नेताहरु सहभागी हुने भनिएको कार्यक्रम स्थगित भएको छ। ४ दल सम्मेलित समाजवादी मोर्चाको सभालाई सम्बोधन गर्न प्रधानमन्त्री बुधबार धनगढी जाने कार्यक्रम थियो। तर उक्त सभा नै स्थगित भएको नेकपा माओवादी केन्द्रका नेताहरुले जानकारी दिएका छन्।

प्रधानमन्त्री प्रचण्ड बुधबार काठमाडौंका विभिन्न कार्यक्रममा व्यस्त हुने भएकाले धनगढी जान नभ्याउने भएका हुन्। नेपाल सरकार र अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एसीसी)बीच भएको अनुदान सहायता सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) बुधबारदेखि ‘इन्ट्री इन्टु फोर्स’ अर्थात् कार्यान्वयनमा जाने घोषणा हुँदैछ।

सम्झौता कार्यान्वयनको उद्‌घाटनमा सहभागी हुन एमसीसी मुख्यालयका कार्य सञ्चालनसम्बन्धी उपाध्यक्ष क्यामरुन एलफोर्ड नेपाल आएका छन्। उपाध्यक्ष एलफोर्डले प्रधानमन्त्री प्रचण्डसँग समेत भेटवार्ता गर्ने कार्यक्रम छ।

समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्न नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्ड, पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपाका महासचिव विप्लव र जनता समाजवादी पार्टीका नेता अशोक श्रेष्ठ धनगढी जाने कार्यक्रम थियो।

समाजवादी मोर्चाले यसअघि लुम्बिनी प्रदेशको बुटवलमा सन्देश सभा आयोजना गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार