काठमाडौं : काठमाडौंको भृकुटीमण्डपमा नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार गर्ने नुवाकोटका युवक श्याम सापकोटाले आफूलाई अभियान्ता भनेर चिनाउँदै हिँड्ने गरेको खुलेको छ।
बुधबार दिउँसो रिपोर्टस क्लबमा आयोजित कार्यक्रममा सहभागी भएर निस्कँदैगर्दा सापकोटाले यादवमाथि खुकुरी प्रहार गरेका थिए।
आक्रमणअघि क्लबमा भएको कार्यक्रममा सापकोटाले कांग्रेस नेता यादवको भाषण सुनेर बसेका थिए । कार्यक्रममा उनी भादगाउँले टोपी, टिसर्ट, हाफ ज्याकेट र झोला बोकेको देखिएका छन् । उनले यादवको भाषण धैर्यतापूर्वक सुनेका थिए तर बाहिर निस्किएपछि उनले झोलाबाट खुकुरी झिकेर आक्रमण गरेका थिए । घाइते यादवको टाउकोमा सामान्य चोट लागेको छ । खतरामुक्त अवस्थामा रहेका उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । सापकोटालाई प्रहरीले नियन्त्रणमा लिएको छ।





