काठमाडौं : दोलखाबाट भएको ११ किलो सुन तस्करी प्रकरणमा प्रहरीले थप एक जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । प्रहरीले चीनको तिब्बत स्थायी ठेगाना भएका तासी दावा भनिने आगर लामालाई पक्राउ गरेको हो ।
पछिल्लो केही समयदेखि तासी काठमाडौं–१५ किमडोलमा बस्दै आएका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका अनुसार चीनबाट सुन भित्र्याउनमा उनको मुख्य भूमिका देखिन्छ ।
११ किलो सुन प्रकरणमा हालसम्म उनीसहित ११ जना पक्राउ परिसकेका छन् ।
दोलखाको सिंगटी र लामाबगरबाट बरामद गरिएको ११ किलो सुन हालै खुलेको चीन–नेपाल नाका ‘फलेक बोर्डर’ बाट तस्करी भएको थियो ।
प्रहरीले असोज ११ मा पहिलो पटक सिंगटीमा ४ किलो सुन भेटाएको थियो । त्यसपछि बिगु गाउँपालिका–३ स्थित सिंगटीबाट ३ किलो र तेस्रो पटक लामाबगरबाट ढुंगामुनि लुकाएर राखेको अवस्थामा थप ४ किलो सुन बरामद गरिएको थियो ।





