काठमाडौं : नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले उत्कृष्ट राष्ट्रिय ध्वजावाहक सम्मान पाएको छ । भारतको मुसाफिर मिडिया हबले भारतमा उडान भर्ने अन्तर्राष्ट्रिय एयरलाइन्समध्ये सन् २०२३ को लागि वायुसेवा निगमलाई उत्कृष्ट राष्ट्रिय ध्वजावाहक सम्मानका लागि छनोट गरेको हो ।
भारतको मुसाफिर ट्राभल टुरिजम क्षेत्रमा लामो समयदेखि टुरिजम ब्रान्डिङ तथा प्रचारप्रसार गर्दै आएको कम्पनी हो । निगमका अनुसार गत कात्तिक ३० गते (नोभेम्बर १५) मा भारतको राजधानी नयाँदिल्लीमा आयोजित एक कार्यक्रममा उक्त सम्मान घोषणा गरिएको थियो ।

निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले प्राप्त सम्मानले अझै जिम्मेवारीपूर्वक निगमको सेवालाई प्रभावकारी बनाउन प्रेरणा मिलेको बताए । उनले निगमको सेवा तथा गुणस्तर अन्तर्राष्ट्रियस्तरको भएको र यसको वृद्धिमा लगातार प्रयास भइरहेको कुरा प्राप्त सम्मानले पुष्टि गरेको दाबी गरे ।
निगमले हाल अन्तर्राष्ट्रिय तर्फ चारवटा जहाजबाट दिल्ली, मुम्वई, वैंलोर, दुवई, दोहा, दमाम, वैंकक, हङ्गकङ्ग, मलेसिया, जापान लगाएत दश गन्तव्यमा उडान भरिरहेको छ । त्यसैेगरी आन्तरिक तर्फ दुइवटा ट्वीनअटर जहाजबाट ताप्लेजुङ्ग, ईलाम, भोजपुर, फाप्लु, थामखर्क, खानिडांडा, रुकुम, नेपालगंज, हुम्ला, जुम्ला, डोल्पा, बाजुरा ताल्चा, दाङ्ग, रेसुङ्गा लगाएत पन्द्र गन्तव्यमा उडान भरिरहेको छ । दशैं तिहारजस्ता चाडवाडमा यात्रुको चाप र आवश्यकतालाइ हेरी निगमले एउटा जहाज नेपालगंजमा राखि त्यहांवाट रुकुम, हुम्ला, जुम्ला, डोल्पा, बाजुरा ताल्चा जस्ता दुर्गम क्षेत्रका यात्रुलाई सेवा दिइरहेको निगमका प्रवक्ता रमेश पौडेलले वताए ।
निगमको सेवा तथा गुणस्तर अन्तर्राष्ट्रिय स्तरको भएको र यसको बृद्धिमा लगातार प्रयास भइरहेकोे कुरा यस्ता अन्तर्राष्ट्रिय सम्मान तथा पुरस्कार प्राप्त हुनुले पुष्टि गरेको निगमका प्रवक्ता रमेश पौडेल वताए ।





