परीक्षा शुल्कबारे प्रश्न गर्दा विद्यार्थीमाथि कुटपिट, नग्न भिडियो खिचेर घटनाबारे नबोल्न चेतावनी

२०८० मंसिर २७, बुधबार

सप्तरी : सप्तरीको राजविराज नगरपालिकाको एक विद्यालयमा प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षबाट विद्यार्थी कुटिएका छन्।

राजविराज– १६ बोरियास्थित नरेन्द्र मेमोरियल जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षले परीक्षा शुल्कबारे प्रश्न गर्दा दुई विद्यार्थीमाथि कुटपिट गरेका हुन्। विद्यालयको कक्षा १० मा अध्ययनरत विकास मण्डल र रोशन साहलाई प्रधानाध्यापक रमानन्द सुनरैत यादव र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रितेश यादवले मंगलबार निर्घात कुटपिट गरेका हुन्।

परीक्षाको फर्म भरेबापत शुल्क तिरे पनि शिक्षकले परीक्षा शुल्कको नाममा थप रकम माग्दा प्रश्न गरेपछि आफूहरूलाई निर्घात कुटपिट गरेको विकासले सुनाए। ‘यहाँ कक्षा १० को फर्म भर्न एक हजार शुल्क लिइन्छ, जब कि अन्य स्कुलमा चार सय मात्र छ। तर, पनि दिएँ,’ उनले भने, ‘पछि परीक्षाको एडमिट कार्ड लिन जाँदा थप चार सय रुपैयाँ मागे।’

उक्त संवाद साथीहरूले भिडियो बनाएर फेसबुकमा पोस्ट गरिदिएका र सोही विषयलाई लिएर प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समिति अध्यक्षले कुटपिट गरेका विकासले बताए। ‘हेडसरले मलाई बोलाएर स्कुलको इज्जत किन्न उडाएको भनेर सोध्नुभयो,’ उनले भने, ‘परीक्षा दिइरहँदा जयराम साह सरले कक्षामा आएर मोबाइल खोसेर लगे।’ छुट्टी भएपछि प्रधानाध्यापकसँग मोबाइल माग्न जाँदा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रितेशले कुटपिट गरेको विकासले सुनाए।

उनका अनुसार रितेशले शौचालयमा लगेर जबर्जस्ती नग्न दृश्य खिचेको र त्यसलाई सार्वजनिक गरिदिने धम्की दिएका छन्। ‘मलाई कुट्दाकुट्दै शौचालयमा लगे, रितेश यादवले हातमा फलामको रड लिएर मलाई कपडा खोल्न भने। नखोले रडले टाउकोमा हान्ने धम्की दिए,’  विकासले भने ।सोही विद्यालयका विद्यार्थी रोशन साहले आफूमाथि पनि कुटपिट भएको बताए। उनीहरू गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा उपचार गराएर बुधबार घर फर्किएका छन्।

प्रश्न गरेको नाममा विद्यार्थी कुटेको विरोधमा विद्यार्थीले बुधबार राजविराजमा चर्को आन्दोलन गरिरहेका छन्। घटनाबारे जिल्ला प्रहरी कार्यालयमा छलफल भइरहेको राजविराज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद गुरुङले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार