तानसेन : पाल्पा, गुल्मी र स्याङ्जा जिल्लाको सङ्गमस्थल रिडीमा भजन महोत्सव हुने भएको छ ।
भजनको संरक्षण गर्न रिडीमा भजन महोत्सव हुन लागेको हो । रुरु धार्मिक सेवा सञ्चार प्रालिले यही पुस १ गते भजन महोत्सव तथा शिखासूत्र भजन प्रतियोगिता गर्न लागेको जनाएको छ । विवाहपञ्चमीको अवसरमा महोत्सव तथा प्रतियोगिता गर्न लागिएको प्रालिका सञ्चालक चुरामणि तिमिल्सिनाले जानकारी दिए । लोप हुन लागेका लोक भजनहरूको संरक्षण गर्ने उद्देश्यले महोत्सव गर्न लागिएको उनले बताए । उनले सनातन हिन्दु धर्म, संस्कार र संकृतिका रूपमा रहेको लोक भजन संरक्षणका महोत्सव गर्न लागेको बताए ।
युवापुस्ता विदेश पलायन हुने र पाका पुस्ताबाट भजन हस्तान्तरण नहुँदा भजन लोप हुँदै गएको आयोजकको भनाई छ । भजन महोत्सवमा विभिन्न जिल्लाबाट सहभागी हुने प्रालिका सञ्चालक विष्णुप्रसाद पाण्डेले जानकारी दिए । महोत्सवमा अन्य धार्मिक यज्ञ तथा प्रतियोगिता हुने उनले बताए ।





