काठमाडौँ : देशभर चिसो बढेसँगै रुघाखोकी, दाम, झाडापखाला, निमोनिया, एलर्जीलगायतका बिरामीको चाप बढेको छ । मौसम परिवर्तनसँगै बालबालिका, वृद्धवृद्धा र दीर्घरोगीका बिरामीलाई रुघाखोकी, दाम, निमोनिया, एलर्जीलगायत स्वास्थ्य समस्या बढी देखिएको हो ।
मधेस प्रदेश अन्तर्गत धनुषाको जनकपुरधामस्थित प्रादेशिक अस्पतालका प्रवक्ता डा. कृष्णदेव दासले मौसम परिवर्तनसँगै ३ देखि ५ प्रतिशतका दरले रुघाखोकी, दाम, निमोनिया, एलर्जीलगायतका बिरामीको सङ्ख्या बढेको बताए । ‘मौसम परिवर्तनसँगै थोरै मात्रमा बिरामीको चाप बढ्न थालेको छ,’ उनले भने, ‘आजभोलि करिब ३ देखि ५ प्रतिशत चिसोका बिरामीको सङ्ख्या बढेको छ ।’
यस्तै कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा पनि मौसमी बिरामीको सङ्ख्या बढ्न थालेको छ । सुदूरपश्चिम प्रादेशिक सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय महाकाली प्रादेशिक अस्पतालका कार्यालय प्रमुख डा. अर्जुन भट्टले बताए । ‘चिसोका कारणले दामको बिरामी, बच्चालाई रुघाखोकी, एलर्जी, पखालालगायत बिरामीको चाप बढेको छ,’ उनले भने, ‘दैनिक रूपमा ओपीडीमा आउने बिरामीको पहिलाको तुलनामा केही बढेको छ ।’
यस्तै गण्डकी प्रदेशअन्तर्गत पर्ने धौलागिरि अस्पतालका वरिष्ठ नर्सिङ अधिकृत शान्ति भण्डारीले अन्य समयको तुलनामा बिरामीको चाप घटे पनि मौसमी रुघाखोकीका बिरामीको सङ्ख्या बढेको बताइन् । ‘पहिला दैनिक ३ देखि ५ सय बिरामी उपचारका लाागि आउँथे,’ उनले भनिन्, ‘हाल दैनिक ३ देखि ४ सयको हाराहारीमा उपचारका लागि बिरामी आउने गरेका छन्, त्यसमध्येका अधिकांश बिरामी मौसमी रुघाखोकी, दाम, निमोनियालगायतका छन् ।’