काठमाडौं : बिहीबार सर्वोच्च अदालतका ६ जना न्यायाधीशले पद तथा गोपनीयताको सपथ लिएका छन्। उनीहरुलाई प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले राष्ट्रपति भवन शितल निवासमा आयोजित कार्यक्रममा सपथ दिलाएका थिए।
सर्वोच्चका न्यायाधीशको सपथ ग्रहण राष्ट्रपति रामचन्द्र पौडेलेको उपस्थितिमा भएको थियो। सर्वोच्च न्यायालयका न्यायाधीशलाई सपथ गराउँदा राष्ट्रपति पौडेलले सामान्य शिष्टाचारसमेत नदेखाएको भन्दै आलोचना भएको छ।
प्रधानन्यायाधीश श्रेष्ठले अन्य ६ जना न्यायाधीशलाई सपथ गराउँदा राष्ट्रपति पौडेल आफ्नो आसनबाट उठेनन्। सपथ गराउँदा उनी आसनमा बसिरहे।
कतिपयले यसलाई राष्ट्रपतिले सर्वोच्च न्यायालयको अपमान गरेको भन्दै टिप्पणी गरेका छन्। यसअघिका राष्ट्रपति विद्या भण्डारी क्यान्सर रोग पीडित थिइन्। तर उनी यस्ता औपचारिक कार्यक्रममा उठ्ने गर्थिन्। त्यस अघिका राष्ट्रपति रामवरण यादव पनि यस्ता औपचारिक कार्यक्रममा उठ्ने गर्थे।
मुलुकमा राजा हुँदा सपथ प्रधानमन्त्रीले मन्त्रीको सपथ गराउँदा राजा उभिने प्रचलन थियो। तर वर्तमान राष्ट्रपति पौडेल बिहीबार सर्वोच्च अदालतको न्यायाधीशको सपथ ग्रहण कार्यक्रममा आफ्नो आसनबाट उठेनन्,जसको अहिले चर्को आलोचना भएको छ।
कतिपयले राष्ट्रपति पौडेल अस्वस्थ भएको हुन सक्ने टिप्पणी गरेका छन्। के राष्ट्रपति पाैडेल सर्वाेच्चका न्यायाधीशकाे सपथ ग्रहणमा एक मिनेट पनि उभिन नसक्ने अवस्थामा पुगेका हुन्? तर राष्ट्रपति निकट स्रोतका अनुसार उनी स्वस्थ छन्। प्रधानन्यायाधीशले गराउने सपथमा आसनबाट उठ्न आवश्यक नठानेरै उनी आसामा बसिरहेका हुन्।
वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्त सपथ ग्रहणजस्तो महत्वपूर्ण कार्यक्रममा सहभागी हुने संस्कार नेपालको गणतन्त्रमा मात्र देखिएको टिप्पणी गर्दछन्।
‘सामान्य शिष्टताले पनि उभिने नै अपेक्षा गरेको हुन्छ। राजाको समयमा महान्यायाधिवक्ताको सपथ समारोहका राजाले उठेर नै समारोहकको शोभा बढाइ कर्तव्य निर्वाह गरेको मेरो स्मरण ताजा नै छ,’ वरिष्ठ अभिवक्ता पन्त भन्छन्, ‘संस्कार र सभ्यतामा पनि लोकतन्त्र कति रमाइलो।’
संविधानले राष्ट्रपतिलाई संरक्षक मानेको छ। संविधानको अन्तिम व्याख्या गर्ने सर्वोच्च अदालतका न्यायाधीशको सपथमा आफ्नो आसनबाट नउठेर राष्ट्रपतिले न्यायालयप्रति अपमान गरेको भन्दै विरोध भइरहेको छ।