सुर्खेत : मुगु जिल्लाको सोरु गाउँपालिका–९ स्थित खनाया स्वास्थ्यचौकीमा कार्यरत तुल्साकुमारी विश्वकर्माले दलित भएकै कारण डेरा छाड्नु परेको छ।
दाङ जिल्ला तुलसीपुर उपमहानगरपालिका–११ की तुल्साकुमारी खनाया स्वास्थ्यचौकीमा अनमीका रूपमा कार्यरत छन्। मुगु कार्यक्षेत्र परेपछि २०७९ माघमा सोरु पुग्नुभएकी तुल्साकुमारी स्वास्थ्य चौकी इन्चार्ज सुरजकुमार शाहीको घरमा डेरा लिएर बसेका थिए। अहिले आएर दलित भएको भन्दै डेराबाट निकालिएको तुल्साकुमारीले बताएका छन्। उनले दलित भएकै कारण बसिरहेको डेरा छोड्नु परेको बताए। सो घटनाका सम्बन्धमा तुल्साकुमारीले उजुरी नदिए पनि स्थानीय केही व्यक्तिले विभेदविरुद्ध जाहेरी दिन सघाउनुको साटो घटनाको ढाकछोप गर्नतिर लागेको बताइन्छ।
स्वास्थ्यकर्मी सुरजको परिवारले नै दलित भएको भन्दै डेराबाट निकालेको तुल्साकुमारी बताउनुहुन्छ। उनका अनुसार सुरजकुमार शाहीका परिवारले नै दलित भएको थाहा पाएपछि घर छोड्न दबाब दिएका हुन्। जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारीसहित सरोकारवालासमक्ष तुल्साकुमारीले बुधबार भने, “घरबेटीले कोठा छोड्न भनेपछि अन्य घरमा कोठा मागेँ तर दलित भएको भन्दै कसैले पनि कोठा दिन मानेनन्।” जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले पीडितको निवेदन दर्ता भएसँगै कानुनी प्रक्रिया अघि बढ्ने जानकारी दिए। मुगुका प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीले जातीय विभेदको घटनाबारे सूक्ष्म अध्ययन भइरहेको जानकारी दिए। यसबारे मङ्गलबार र बुधबार सरोकारवालासँग बसेर छलफल गरिएको भन्दै केसीले पीडितले किटानी जाहेरी दिए कानुनी प्रक्रिया थालिने बताए। उनले भने, “पीडितले प्रहरीमा जाहेरी दिनुभएको छैन। सामान्य जानकारी मात्र दिएका छन्। हामीले सबैसँग बुझिरहेका छौँ।”
कर्णाली प्रदेशमा हरेक वर्ष यस्ता विभेदका घटना भइरहेका छन् तर प्रहरीको तथ्याङ्कमा जातीय विभेदका मुद्दा कम दर्ता भएको पाइएको छ। प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार आर्थिक वर्ष २०७७/७८ मा पाँच वटा मात्र जातीय विभेदका मुद्दा दर्ता भएका थिए। आव २०७८/७९ मा कुनै पनि मुद्दा दर्ता नै भएनन्। आव २०७९/८० मा चार वटा मुद्दा दर्ता गरिएका थिए। चालु आवको यो अवधिसम्म दुई वटा मात्रै जातीय विभेदका मुद्दा दर्ता भएका छन्। जातीय विभेदका थुप्रै घटना हुने गरे पनि तीमध्ये निकै कम घटनाको उजुरी आउने गरेको प्रहरीले जनाएको छ। समाजमा जातीय छुवाछूत र विभेद कायमै रहेको दलित अधिकारकर्मी मञ्जु सुनारले बताए।