काठमाडौँ : क्रिकेटर सन्दीप लामिछानेबाट पीडित भएकी युवती गौशाला २६ को पहिचना सामाजिक सञ्जालमा खुलाउनेविरुद्ध बिहीबार नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी परेको छ। प्रहरीले गौशाला २६ नाम दिएकी ती युवतीका तस्बिरसहितको विवरण सामाजिक सञ्जालमा सार्वजनिक भएपछि कानुनी विकल्प खोजिएको हो।
सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गर्नेहरूलाई कारबाही माग गर्दै बिहीबार सन्दीपबाट पीडित ती युवतीले साइबर ब्युरोमा उजुरी दिएकी हुन्। गौशाला २६ ले आफ्नो वास्तविक नाम र तस्बिर सार्वजनिक गर्ने फेसबुक र एक्ससहित ६ वटा पेजविरुद्ध उजुरी दिएकी हुन्। पीडित युवतीको उजुरी आएपछि उनको वास्तविक नाम र तस्बिर सार्वजनिक गर्नेहरूविरुद्ध अनुसन्धान अघि बढाइएको साइबर ब्युरोका प्रमुख एसएसपी नवीन्द्र अर्यालले बताए।
ती युवतीले वैयक्तिक गोपनीयता तथा प्रतिष्ठाविरूद्धको कसुर (मुलुकी अपराध संहिता, २०७४) को दफा २९४, दफा २९८ समेत र कम्प्युटरसम्बन्धी कसुर (विद्युतीय ‘इलेक्ट्रोनिक’ कारोबार ऐन, २०६३ को दफा ४७ बमोजिम कसुर भएको जिकिरसहित उजुरी दर्ता गराएकी हुन्। यसअघि आफ्नो पहिचान खुलाएको भन्दै गौशाला २६ साइबर ब्युरो पुगेकी थिइन्। तर त्यसबेला मुद्दाको उठान भएको गौशाला बृत्तबाटै यसको समाधान खोज्न भनिएको थियो।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको निर्णयअनुसार बलात्कारी ठहर भएका लामिछानेबाट पीडित युवतीको भन्दै केही दिनयता सामाजिक सञ्जालमा तस्बिर हाल्ने क्रम बढेको छ। ढकालको इजलासले सन्दीपलाई बलात्कारी ठहरसहित आठ वर्ष जेल सजायको फैसला सुनाएको छ। सन्दीपले ३ लाख जरिवाना र २ लाख क्षतिपूर्ति पनि भराउनुपर्ने भएको छ।
यसैबीच गौशाला २६ को तस्बिर र वास्तविक नाम सार्वजनिक गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले कार्यकर्ता दिवश सापकोटालाई बिहीबार निलम्बन गरेको छ। जापानमा बस्दै आएका चितवन निवासी सापकोटा गौशालाको २६ को भन्दै सामाजिक सञ्जाल एक्समा एकजना युवतीका ३ वटा तस्बिर सार्वजनिक गरेका थिए। रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग जापान च्युबू शाखा समिति सदस्य रहेका सापकोटालाई पार्टीको अनुशासन उल्लघंन आरोपमा निलम्बन गरिएको हो।





