काठमाडौँ : जंगली हात्तीको आक्रमणबाट बर्दियामा दुईजना महिला घाइते भएका छन्।
शुक्रबार दिउँसो पौने ३ बजेको समयमा बर्दियाको मधुवन नगरपालिका-१ दुर्गानगर निवासी दुईजना महिला घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
स्थानीय सामुदायिक वनमा घाँस काट्न गएको अवस्थामा हात्तीको आक्रमणबाट ५२ वर्षीया सीता थारु र ३१ वर्षीया सुशीला चौधरी घाइते भएका हुन्।
हात्तीको आक्रमणबाट सीताको टाउको तथा सुशीलाको टाउको, छाती र हातखुट्टामा चोट लागेको छ। अहिले दुवैको बर्दिया अस्पताल गुलरियामा उपचार भइरहेको छ।





