ताप्लेजुङ : नेकपा (एमाले)का नेता योगेशकुमार भट्टराईले पछिल्लो समय केही शक्ति वर्तमान राज्य व्यवस्थाविरुद्ध खुलेर लाग्न थालेको बताएका छन् ।
उनले इतिहासमा सीमित भएको राजतन्त्र फर्काउने कुराले जनतामा भ्रम सृजना भइरहेको र यो वर्तमान व्यवस्थाविरुद्ध भएको बताए । प्रेस चौतरी नेपालले आफ्नो स्थापना दिवसका अवसरमा आज ताप्लेजुङमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । वर्तमान राज्य व्यवस्था जनआन्दोलनको बलमा स्थापित भएकाले पुनरुत्थान गर्ने विचार दिवास्वप्न बाहेक केही नभएको र यसले कुनै नतिजा नदिने उनको भनाइ छ ।
उनले कुनै पनि विकासक्रम वा राज्य व्यवस्था पछाडि फर्किन नसक्ने उल्लेख गर्दै इतिहासमा सीमित भइसकेको राजतन्त्रको वर्तमान र भविष्य नभएको स्पष्ट पारे । प्रतिनिधि सभा सदस्यसमेत रहेका नेता भट्टराईले राजतन्त्रको इतिहासलाई हेर्दा नेपालको एकीकरणमा राजा पृथ्वीनारायण शाहको ऐतिहासिक भूमिकाबाहेक राजतन्त्रको अरू कुनै सान्दर्भिकता नरहेको टिप्पणीसमेत गरे ।





