मिसन ८४ केवल भ्रम हो: सिके राउत

२०८० माघ २२, सोमबार

काठमाडौं : २०८४ को आम निर्वाचनमा पहिलो दल बन्ने भन्दै केही राजनीतिक पार्टीहरूले चलाएको मिसन ८४ भ्रम मात्रै भएको निष्कर्षसहित जनमत पार्टीले राजनीतिक प्रतिवेदन तयार पारेको छ। आइतबार बसेको पार्टी सचिवालय बैठकमा जनमत पार्टीका अध्यक्ष सिके राउतले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा अर्को चुनावमा कुनै दलले एक्कासि दुई तिहाइ मत ल्याउने कुरा कोरा कल्पना बाहेक केही नभएको लेखिएको छ।

‘२०७९ सालको आम निर्वाचनबाट उदाएका केही दलहरू अहिलेदेखि मिसन ८४ को राग अलाप्दै छन् र जनता पनि कतै न कतै किंकर्तव्यविमूढ भएर आशा गर्दै प्रतिक्षा गर्न वाध्य छन्,’ राउतको प्रतिवेदनमा उल्लेख छ,‘तर मिसन ८४ केवल भ्रम हो।’ उनले वर्तमान राजनीतिक व्यवस्था र आर्थिक प्रणालीबाट जनताले खोजेको विकास सम्भव नभएको र त्यो अहिलेको प्रतिनिधिसभाबाट पनि सम्भव नरहेको उल्लेख गरेका छन्।

‘अर्को कुरा २०८४ मा पनि कुनै दलले एक्कासि दुई तिहाई ल्याइहाल्ने कुरा कोरा कल्पनाबाहेक केही हुन सक्दैन। बढीमा भए १०-२० सीट यता उता हुने हो र फेरि पुराना पार्टीहरूकै गठबन्धन सरकार बन्ने हो,’ राउतले प्रतिवेदनमा लेखेका छन्,‘कथंकदाचित् नयाँ पार्टीहरूले दुई तिहाई ल्याइ हाले पनि पुराना पार्टीहरू चुप लागेर बस्ने दिन नै आउँदैन।’

अध्यक्ष राउतले ८४ मा नयाँ पार्टीहरूले जिते भने पनि पुराना पार्टीहरूले विभिन्न तिक्डम गरेर अघि बढ्नै नदिने कल्पना आफ्नो प्रतिवेदनमा गरेका छन्। उनले नेपाली सेना, प्रहरी,कर्मचारी, विद्यार्थी मोर्चा पुराना दलहरूकै ईसारामा चलिरहेको र जुनसुकै परिस्थितिमा पनि उनीहरूले पुराना दलहरूको साथ नछोड्ने आक्षेप समेत समेत लगाएका छन्।

‘आखिर सेना र प्रहरीमा पुरानै पार्टीहरूले संरचना बनाएर राखेका छन। त्यसैगरी कर्मचारी, शिक्षक, विद्यार्थी हरेक ठाउँमा उनीहरूको बफादार मोर्चा छ जो आफ्ना नेताको इशारामा मर्न मार्न तयार छन्, देशमा आतंक फैलाउन तयार छन्,’ प्रतिवेदनमा लेखिएको छ। आफ्नो राजनीतिक प्रतिवदेनमा अध्यक्ष राउतले देश पुराना शीर्ष नेताहरूको सिन्डिकेटमा चलिरहेको र देशको सम्पूर्ण व्यवस्था तहसनहसको अवस्थामा रहेको जिकिर गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार