मकवानपुर : किशोरी बलात्कारको अभियोगमा तत्कालीन नेकपा माओवादीका पूर्वलडाकु कमाण्डर पक्राउ परेका छन्।
मकवानपुरकी १३ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा पूर्वमाओवादी लडाकु कमाण्डर हरि श्रेष्ठ पक्राउ परेका हुन्। बलात्कार अभियोगमा पक्राउ पर्नेमा सिन्धुलीको मरिन गाउँपालिका ७ का हरि श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डीएसपी लक्ष्मी भण्डारीले बताए।
उनका अनुसार गत मंसिर दोस्रो सातातिर बलात्कार भएको भन्ने उजुरी दर्ता भएको छ। उक्त उजुरीका आधारमा श्रेष्ठलाई पक्राउ गरी जिल्ला अदालत मकवानपुरबाट पहिलोपटक म्याद थपेर अनुसन्धान भइरहेको छ। जनयुद्धकालमा प्रमोद नामले चिनिने श्रेष्ठ माओवादी जनमुक्ति सेनाको दोस्रो डिभिजन कमाण्डर थिए। उनी शान्ति प्रक्रिया अघि बढेपछि माओवादी लडाकुलाई राखिएको दुधौली शिविरमा थिए।





