नेपालगन्ज : उद्योग तथा वाणिज्य र श्रम उपभोक्ता हित समितिका सभापति एवम् पूर्वमन्त्री अब्दुल खानसहितको टोलीले बाँकेका विभिन्न उद्योगको निरीक्षण अनुगमन गरेको छ ।
बाँके जिल्लाका केही ठुला उद्योगहरूको अनुगमन र निरीक्षणका क्रममा जिल्लाको पिपरहास्थित केएल दुगड उद्योगअन्तर्गत रहेको फुड प्रोडक्ट प्रालिले तौल कम गरेर खाद्यान्न बजारमा पठाउने गरेको पाइएको समितिका सभापति खानले बताए । उनले सो उद्योगमा निरीक्षण गर्दा तौलमा उपभोक्तालाई ठगी गरेको भेटिएपछि नियम बमोजिम जरिवाना र आवश्यक कारबाही गरिने जानकारी दिए ।
अनुगमनका क्रममा के एल दुगडले उत्पादन गरेको २० केजी चिउराको बोरामा १८/१९ केजी र ५० केजी अरुवा चामलको बोरामा २०० ग्राम तौल कम राखेर बिक्री गर्दै आएको पाइएको सभापति तथा पूर्वमन्त्री खानले बताए । उनले भने, ‘‘सर्वसाधारण नागरिकको स्वास्थ्यसँग खेलबाड गर्नेगरी खाद्यवस्तु बिक्री गर्ने, तौल कम गरेर उपभोक्तालाई ठग्ने जति ठुला उद्योगी व्यापारी भए पनि समितिले उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम कारबाही गर्ने छ ।’’
केएल दुगडका केही कर्मचारीहरूले सभापति खानलाई अनुगमन गर्नमा केही समय अवरोध गरेपछि प्रहरीको सहयोगमा उद्योग भित्र अनुगमन गर्दा कमतौलको समस्या देखा परेको सभापति खानका निजी सचिव अतिउल्ला मुसलमानले जानकारी गराए । सोही प्रकारले सभापति खानले बाँकेको गनापुरमा रहेको औषधी उत्पादन गर्ने उद्योग पानस फर्मास्युटिकल र अम्बे स्टिलको समेत अनुगमन गरी उद्योगहरूमा काम गर्ने मजदुरहरूको समस्या र पारिश्रमिकका विषयमा छलफल गरेका थिए।
अम्बे स्टिलमा काम गर्ने मजदुरहरूले समयमा पैसा पाउन नसकेको गुनासो सभापति खान समक्ष गर्नुका साथै सुरक्षा उपकरणहरू समेत कम्पनीले उपलब्ध नगराउँदा जोखिम मोलेर काम गर्नु परेको पिडा सुनाएका थिए । ती समस्या समाधान गर्न उद्योगमा उपलब्ध कर्मचारीलाई सभापति खानले निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।





