काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालकुमारी घटनामा सरकारले बनाएको आयोगले नै दोषी देखाएपछि भौतिक पूर्वाधार तथा यातयातमन्त्री प्रकाश ज्वालाले राजीनामा दिनुपर्ने बताएका छन्। उनले मन्त्री ज्वालालाई नैतिकता नभएको र प्रधानमन्त्री प्रचण्डलाई हुतीहाराको संज्ञा दिए।
मन्त्रीहरू त अहिले जता पनि झण्डा हल्लाउँदै पुगेका छन्। दोषी हो भनेर तोकिएको छ। सरकारले नै बनाएको आयोगले मन्त्री दोषी हो मन्त्रीको गलत क्रियाकलापले गर्दा त्यहाँ मान्छे मर्ने स्थिति आयो तोकेर भनेको छ। यस्तो मन्त्रीमा नैतिकता भन्ने चिज नै छैन न राजीनामा गर्छ, न त प्रधानमन्त्रीसँग हटाउने हुती छ। नैतिकता हराएको मन्त्री, हुतीहारा प्रधानमन्त्री।
यस्ता मन्त्रीहरू जसलाई दोषी करार गरेको छ। त्यसले जुन दोषका कारणले मान्छेको ज्यान गएको छ। जुन दोषका कारणले प्रहरीहरू कारबाहीमा परेका छन्। अप्रिय स्थिति बनेको छ, त्यस्तो मन्त्री बसिरहन मिल्छ ? के हो लोकतन्त्र ? लोकतन्त्रको यस्तो मजाक उडाउन मिल्छ ? यो गठबन्धनले यो काम गरिरहेको छ। लाज पनि छैन।





