काठमाडौँ : करिब एक महिनाअघिसम्म क्यानडाका लागि वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) लिने विद्यार्थीको संख्या अत्यधिक थियो । तर, फागुन महिना लागेपछि यो तथ्यांक बदलिएको छ । पछिल्लो एक महिनाको तथ्यांक हेर्दा सबैभन्दा बढी विद्यार्थीले जापानमा अध्ययनका लागि एनओसी लिएका छन् । अझ पछिल्लो तीन दिनयताको जापानका लागि एनओसी लिनेको संख्या अत्यधिक बढेको देखिन्छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय वैदेशिक अध्ययन अनुमति शाखा (एनओसी) कार्यालयका अनुसार फागुन १ देखि १७ गतेसम्म जापानका लागि तीन हजार ६८ जनाले एनओसी लिएका छन् । सोही अवधिमा क्यानडामा ३४३, युकेमा २९३, अस्ट्रेलियामा २८४, कोरियामा १०६, युएसएमा ९२ लगायत गरी चार हजार ६१४ जनाले एनओसी लिएका छन् । एनओसी कार्यालयका प्रमुख शान्तिराम पौडेलका अनुसार पछिल्लो एक महिनाको तथ्यांक हेर्दा जापानमा विद्यार्थीको आकर्षण बढेको देखिन्छ ।
‘दैनिक ६ सय हाराहारीले एनओसीको फारम भर्ने गरेकोमा पछिल्लो तीन दिनयता एक हजारभन्दा बढीले एनओसी एप्लाई गरेका छन्, यो देख्दा देश कता जाँदै छ भन्ने लाग्छ,’ उनले भने, ‘युवा जनशक्तिको एनओसी लिन आएको दृश्यले देश रित्तिँदै छ भन्ने चिन्ता पनि हुन्छ ।’





