
काठमाडौं : रास्वपा अध्यक्ष रवि लामिछाने १३ महिनापछि पुनः गृह मन्त्रालयको नेतृत्वमा पुगेका छन् । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नयाँ सत्तागठबन्धनमा उपप्रधानमन्त्री एवं गृहमन्त्रीका रूपमा रविको ‘कमब्याक’ भएको हो ।
यसअघि १० पुस ०७९ मा बनेको माओवादी–एमाले–रास्वपा गठबन्धनमा पनि उनी उपप्रधामन्त्री एवं गृहमन्त्री थिए । तर, १३ माघ ०७९ मा नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतको आदेशबाट उनले सांसद पद गुमाएका थिए । त्यससँगै उनको मन्त्री तथा पार्टी सभापतिको पदसमेत गुमेको थियो ।
पछि १० वैशाखमा भएको उपनिर्वाचनमार्फत उनी पुनः चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित हुँदै प्रतिनिधिसभामा पुगे । त्यसलगत्तै उनले कांग्रेस–माओवादी नेतृत्वको गठबन्धनमा पनि गृहमन्त्री पाए सरकारमा जाने प्रयास गरेका थिए । तर, गृह मन्त्रालय नपाएपछि उनी सरकारमा गएनन् । आफ्नो पद गएसँगै उनले पार्टीलाई सरकारबाट फिर्ता बोलाएका थिए भने पछि सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएका थिए ।
यसपटक अचानक प्रधानमन्त्री प्रचण्डले कांग्रेससँगको सहकार्य तोडेर नयाँ गठबन्धन बनाउँदा उनी पुनः गठबन्धनमा जोडिए भने १३ महिनापछि गृहमा ‘कमब्याक’ गरे ।