काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो गठबन्धन तोडिनुमा कांग्रेस नै जिम्मेवार रहेको बताएका छन् । बिहीबार संसद्मा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले संघीय र प्रदेश निर्वाचनमा कांग्रेसबाट अपेक्षित तहमा सहयोग नभएकोदेखि कांग्रेस महासमिति बैठकमा भएका निर्णयहरूसमेत समीकरण गरी परिवर्तनको कारण भएको बताएका हुन्।
दाहालले भने ‘निर्वाचनमा नेकपा (माओवादी केन्द्र) ले जुन तहमा कांग्रेसलाई सघायो, त्यही तहमा आफूले सहयोग पाएन । त्यसले आपसी विश्वास कमजोर बनाएकै थियो, निर्वाचनपछि माओवादीलाई सरकारको नेतृत्व दिने सहमतिबाट पनि नेतृत्व पछि हट्यो। एउटा परिस्थतिमा फेरि जोडिएपछि पछि कोशी प्रदेशमा त कांग्रेसको एउटा समूहले विद्रोह नै गर्यो । गठबन्धनको नैतिकताको कसीमा त्यो ‘विद्रोह’ दण्डित हुनुपर्ने थियो तर भयो पुरस्कृत। राष्ट्रियसभा निर्वाचनमा त्यो समूहले माओवादी उम्मेदवारलाई अन्तरघातबाट पराजित नै गर्यो ।’
प्रधानमन्त्री दाहालले कांग्रेस महासमिति बैठकमा बिनासन्दर्भ गठबन्धनको निन्दा गरिएको पनि बताए । ‘निर्वाचन आउन चार वर्ष बाँकी छँदै गठबन्धनका साझेदारहरूमाथि अनावश्यक र बेसमयको मानमर्दन कतैबाट पनि विवेकपूर्ण र राजनीतिक थिएन’ उनले भने।
साथै कांग्रेस महासमिति बैठकमा स्टल नै राखेर धर्मका नाममा हस्ताक्षर अभियान चलाएकोप्रति पनि प्रधानमन्त्री दाहालले असन्तुष्टि व्यक्त गरे। ‘संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेको अनि समावेशी, धर्मनिरपेक्ष र समाजवादउन्मुख संविधान निर्माणको मुख्य साझेदार रहेको नेपाली कांग्रेसको महासमिति बैठकमा स्टल नै राखेर जसरी धर्मका नाममा हस्ताक्षर अभियान चलाइयो, त्यसले कांग्रेसको संविधानप्रतिको प्रतिबद्धतामै आशंका जनाउन सक्ने जमिन तयार गर्यो’ –प्रधानमन्त्री दाहालले भनेका छन् ।
नयाँ गठबन्धनको दायरा थप फराकिलो बन्दै जाने विश्वास व्यक्त गर्दै एकै ठाउँमा उभिएर शासनका लक्ष्यहरू हासिल गर्ने उनले प्रतिबद्धता जनाएका छन् ।





