काठमाडौँ : आगामी वैशाख १५ गते हुन गइरहेको प्रतिनिधि सभाको उपनिर्वाचनका लागि इलाम– २ मा नेकपा (एमाले)को तर्फबाट सुहाङ नेम्वाङले औपचारिक दाबी पेश गरेका छन् ।
एमाले इलामले उपनिर्वाचनका लागि गठन गरेको कार्यदलमा सुहाङले आइतवार निवेदन दिँदै औपचारिक दाबी पेश गरेका हुन् । एमालेका तत्कालीन उपाध्यक्ष एवं संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको गत भदौ २६ मा निधन भएपछि इलाम–२ मा उपनिर्वाचन हुन लागेको हो । उक्त स्थानमा उनकै कान्छा छोरा सुहाङले उम्मेदवारको दाबी पेश गरेका हुन् ।
एमाले जिल्ला कमिटीले उम्मेदवार चयनका लागि आवश्यक अध्ययन गर्न उपाध्यक्ष उदयबहादुर राईको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । उपनिर्वाचनको मिति तोकिएसँगै सुवासका छोरा सुहाङ पनि उम्मेदवार बन्ने चर्चा चलिरहेको बेला उनी आफैँले पनि मैदानमा उत्रने संकेत गरेका छन् ।





