विराटनगर : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफूले नै कोशी प्रदेशमा माओवादीलाई मुख्यमन्त्री हुन नदिएको स्वीकार गरेका छन् ।
विराटनगरमा गुराँस पुस्तकालयको ५४ औं वार्षिक उत्सव कार्यक्रममा बोल्दै आफूले नै माओवादीलाई कोशी प्रदेशमा मुख्यमन्त्री हुनबाट रोकेको दाबी गरे । तत्कालीन सत्ता गठबन्धनले माओवादी कोशी प्रदेश संसदीय दलका नेता इन्द्र आंवोलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो । शीर्ष नेताहरुको निर्णयविरुद्ध विद्रोह गर्दै उनी निकट केदार कार्की एमालेको सहयोगमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
राष्ट्रिय सभा निर्वाचनमा माओवादीकी उम्मेदवार हारेपछि त्यसको दोष पनि प्रधानमन्त्री दाहालले कांग्रेसलाई लगाएकोमा असन्तुष्ट पोखे । उनले भने, ‘जित्न नसक्ने अनि हामीले हरायौँ ? त्यस्तो पनि कहीँ हुन्छ ?’ उनले मुलुकको लोकतन्त्र अझै सुदृढ बनाउनु पर्ने आवश्यकता रहेको बताए । कोइरालाले अहिले राजनीतिक उथलपुथल देखिएको र सुदृढ लोकतन्त्रको अभावमा धेरै विकृति विसङ्गति पनि आइरहेको बताए । उनले राजनीतिकमा नैतिकता र संस्कारको खडेरी पर्दै गएको बताए ।
उनले गठबन्धन फेरिएको सरकार राम्रो चालोस् भन्दै शुभकामना दिए । तर राणा र राजासित लडेको कांग्रेसलाई कमजोर नठान्न चेतावनी दिए । संसद्मा कांग्रेस कडा विपक्षीको भूमिकामा देखिने बताए ।