काठमाडौँ : फागुन ११ गते थापाथलीस्थित प्रसूति तथा स्त्रीरोग अस्पतालबाट बच्चा चोरी आरोपमा पक्राउ परेकी महिलालाई अपहरण तथा शरीर बन्धकको मुद्दा चलाइएको छ। घटनाकै राति पक्राउ परेकी दैलेख घर भई काठमाडौं बस्ने मानकुमारी सिंहविरुद्ध अनुसन्धान सकेर सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा मुद्दा दायर गरेको हो।
मानकुमारीले जन्डिस लागेपछि उपचारका लागि अस्पताल लगिएकी काभ्रेकी सविना श्रेष्ठकी २६ दिने छोरीलाई चोरेको आरोप लागेको छ।अस्पताल परिसरमै समात्न दिएर सविना रिपोर्ट लिन जाँदा मानकुमारी नाबालिका शिशु लिएर अस्पतालबाट फरार भएकी थिइन्। सीसीटीभी फुटेजका आधारमा मानकुमारीको पहिचान गरेर प्रहरीले उनलाई पेप्सीकोलास्थित कोठाबाटै पक्राउ गरेको थियो।
अनुसन्धानका क्रममा मानकुमारीले आफू मानसिक रुपमा विक्षिप्त रहेका कारण उक्त घटना हुन पुगेको बयान दिएकी छन्। पटक पटक गर्भ खेर गएपछि आफू डिप्रेसनमा रहेको उनले बयान दिएकी छन्। बच्चा लिएर घर जाँदा पनि आफ्नो दिमागले कामै नगरेको बयान उनले सरकारी वकिलसमक्ष दिएकी छन्।