गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिनको माग

२०८० चैत्र ७, बुधबार

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा अनुसन्धानको घेरामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समिति बनाउनुपर्ने माग गरेको छ।

प्रतिनिधिसभा बैठकमा मंगलबार कांग्रेसले सरकारको ध्यानाकर्षण गराउँदै गृहमन्त्री लामिछानेमाथि लागेको सहकारी ठगीको विषय छानबिन गर्न संसदीय समिति नै बनाउनुपर्ने माग राखेको हो । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समिति गठन नभए आगमी संसद्को बैठक चल्न नदिने चेतावनी दिएका छन् ।

गृहमन्त्री रवि लामिछानेका बारेमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिएको जवाफ कांग्रेसलाई चित्त नबुझेको भन्दै खतिवडाले भने–‘कांग्रेसले संसद्मै संसदीय छानबिन समितिको माग गरेको छ । समिति गठन नभए हामी आगामी बैठक चलाउने विषयमा सहमत हुन सक्दैनौं । त्यो काम सरकारको हातमा छ ।’

प्रधानमन्त्री प्रचण्ड र सत्ता सहयात्री दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले भने गृहमन्त्री लामिछानेको बचाउ गरेका छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने निर्दोष भएको जिकिर गर्दै भने– ‘हालसम्मको अनुसन्धानले उनी सहकारीको सञ्चालक समिति, लेखा समिति, ऋण समिति, कर्मचारीलगायत कुनै पनि जिम्मेवारी र भूमिकामा नरहेको र अदालतमा विचाराधीन मुद्दामा पनि कहीँ कतै जोडिएको देखिएको छैन ।’

प्रधानमन्त्री प्रचण्डले सहकारीमा रवि लामिछानेको नाममा प्रवाह भएको भनिएको ऋण फछ्र्याेट भएको देखिन आएकाले उनको हकमा अनुसन्धान गर्नुपर्ने नदेखिएको जानकारी गराए। उक्त विषयमा संसदीय छानबिन समिति आवश्यक नभएको पूर्व प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी ओलीले बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार