ताप्लेजुङ : पछिल्लो समय भीर मौरीको महको माग बढ्न थालेको छ। ताप्लेजुङका स्थानीय व्यवसायीका अनुसार विगतमा भन्दा अहिले भीर मौरीको महको माग बढ्न थालेको हो। ताप्लेजुङ भित्रने आन्तरिक तथा बाह्य पर्यटकका कारण भीर मौरीको महको माग बढ्दै गएको पाइएको छ। सदरमुकाम फुङ्लिङ बजारमा कोसेली घर सञ्चालन गर्दै आउनुभएका व्यवसायी ललित गुरुङका अनुसार विगत वर्षका तुलनामा पछिल्लो समय भीर मौरीको महको माग बढ्दै गएको छ।
ताप्लेजुङ कोसेली घरका सञ्चालक गुरुङले भीर मौरीको मह खरिद गर्नेमा जिल्ला बाहिरका ग्राहक बढी रहेका बताए। उनकाअनुसार जिल्लास्थित प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शनमा आउने तीर्थयात्रीले मह खरिद गर्ने गरेका छन्। तीर्थयात्रीबाहेक ताप्लेजुङको भ्रमणमा आउने पाहुना तथा अन्य पर्यटकले कोसेलीको रूपमा भीर मौरीको मह खरिद गर्ने गरेका उनले बताए।
केही वर्ष अघिसम्म भीर मौरीको मह सीमित ग्राहकले मात्र खोज्ने गरेकोमा अहिले माग बढ्दै गएको व्यवसायी गुरुङको भनाइ छ। गुरुङले सञ्चालन गर्नुभएको कोसेली घरमा वर्षमा दुई सिजन (मौसम) गरी दुई सयदेखि दुईसय ५० किलोग्रामसम्म भीर मौरीको मह आउने गरेको छ। भीर मौरीको मह प्रतिकिलोग्राम वा बोतल तीन हजार ५०० रुपियाँले बिक्री हुने गरेको छ।
स्थानीय व्यवसायीका अनुसार भीर मौरीको मह सङ्कलन गर्नेले वर्षमा दुई सिजन बजारमा मह ल्याउने गरेका छन्। मह सङ्कलकले ल्याउने भीर मौरीको अधिकांश मह कोसेली घरमा आउने गरेको छ भने केही गाउँमै खपत हुने गरेको व्यवसायी बताउँछन्। कोहीले भने सिधै मह सङ्कलन गर्नेसँग सम्पर्क गरेर भीर मौरीको मह खरिद गर्ने गरेको पाइएको छ।
यता डिभिजन वन कार्यालय ताप्लेजुङको तथ्याङ्कअनुसार थोरै परिमाणमा भीर मौरीको मह सङ्कलन गर्ने अनुमति लिने गरिएको छ। चालू आर्थिक वर्षमा ६० किलोग्राम भीर मौरीको मह सङ्कलन गर्ने गरी डिभिजन वन कार्यालयबाट अनुमति जारी भएको निमित्त डिभिजनल वन अधिकृत ललितकुमार यादवले जानकारी दिए। उनका अनुसार अघिल्लो वर्षहरूमा पनि सोही अनुपात अर्थात् एकसय किलोग्राम भन्दा न्यून भीर मौरीको मह सङ्कलनको अनुमति जारी हुने गरेको थियो।
भीर मौरीले जडीबुटीजन्य फूलबाट मह बनाउने भएकाले औषधीय गुण भएको मह मानिन्छ। धेरै खाँदा वा उपभोग गर्दा मात लाग्ने भए पनि मात्रा मिलाएर उपभोग गरेमा भीर मौरीको मह हाडजोर्नी, नशासम्बन्धी समस्या, युरिक एसिड, उच्च रक्तचापलगायत दीर्घरोग भएकालाई उपयुक्त हुने विशेषज्ञ बताउँछन्। औषधीय विशेषता भएकै कारण पछिल्लो समय भीर मौरीको महको माग बढ्दै गएको व्यवसायीको भनाइ छ।





