काठमाडौँ : भारत र चीनसँगको सीमा सुरक्षार्थ सशस्त्र प्रहरी बल नेपालले चौबिसै घण्टा गस्ती सुरु गरेको छ । सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम अन्तर्गत सीमा पैदल गस्ती परिचालनसम्बन्धी अवधारणापत्र–२०८० लागु गरी सशस्त्रको पल्टनलाई सीमा गस्तीमा खटाइएको छ ।
सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले सीमा पैदल गस्तीको सुरुवात मधेश प्रदेशस्थित सशस्त्र प्रहरी बल–२ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीले सुरु गरेको जानकारी दिए । यो गस्ती सातै प्रदेश अन्तर्गतका प्रत्येक बाहिनीले गण, गुल्म, प्रस्तावित सीमा सुरक्षा गुल्म, सीमा सुरक्षा बल (बिओपी) र बेससमेतको जनशक्ति समावेश गरी सीमाक्षेत्र तथा दसगजा इलाकामा बन्दोबस्तीसहित सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा तैनाथ गर्ने जनाइएको छ ।
छिन्नमस्ता बाहिनी मुख्यालय अन्तर्गतको नम्बर १३ गण पर्साले संवेदनशील क्षेत्र पहिचान गरी नागरिकको सुरक्षा र सीमा स्तम्भको संरक्षण सुरु गरिसकेको छ । तैनाथ पल्टनले अन्य सुरक्षा निकाय, जनप्रतिनिधि, सीमावासी तथा भारतीय समकक्षीको उपस्थितिमा गस्ती सुरुवात गरेको हो ।परिचालन गरिएको गस्तीलाई गण, बाहिनी तथा सशस्त्र प्रहरी मुख्यालय हलचोक काठमाडौँबाट प्रत्यक्ष रूपमा अनुगमन गरिने सहप्रवक्ता थापाले जानकारी दिए ।
गस्ती टोलीले दसगजा क्षेत्रको सुरक्षा, सीमाक्षेत्रबाट हुने अपराध नियन्त्रण तथा सीमा अतिक्रमणको प्रभावकारी अनुगमन गर्ने छ । यसै गरी चोरी तस्करी रोकथाम, राजस्व चुहावट नियन्त्रणसँगै गैरकानुनी गतिविधि नियन्त्रण गर्ने छ । गस्तीले सशस्त्र प्रहरी बल र छिमेकी मित्रराष्ट्रका समकक्षीसँग समन्वय र सहकार्यमा सहयोग पुग्ने अपेक्षा रहेको उहाँले बताए । गस्तीमा परिचालन भइसकेको पल्टनलाई कार्यक्षेत्रको भौगोलिक, सामाजिक, आर्थिक, सांस्कृतिक, धार्मिकलगायतका वस्तुगत जानकारी गराइसकेको सशस्त्र प्रहरी मुख्यालय हलचोकले जनाएको छ ।
त्यसै गरी परिचालन भएको पल्टनले प्रभावकारी सुरक्षा व्यवस्थापनसँगै सीमावासी नागरिकसँग अन्तरक्रिया गरी सम्बन्ध तथा सामिप्यता अभिवृद्धि गर्ने छ । एक जिल्लाबाट अर्कोमा क्रस गस्ती गर्ने र सीमा पैदल गस्तीले अर्को गस्तीसँग संयोजन गरी गस्तीलाई चक्रका रूपमा निरन्तरता दिने सशस्त्रले जनाएको छ । यो गस्तीले विपत् जोखिम न्यूनीकरण, मानव बेचबिखन तथा सीमा अपराधसम्बन्धी सचेतनामूलक कार्यक्रमसमेत गर्ने छ ।





