काठमाडौं : नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले कर्णाली प्रदेशको मुख्यमन्त्री माओवादीले नै राख्नुपर्ने बताएका छन्।बालुवाटारमा बुधबार बिहान बसेको पार्टी पदाधिकारी बैठकमा उपमहासचिव शर्माले कर्णालीमा पहिलेदेखिनै माओवादीले मुख्यमन्त्री लिइरहेको र जनाधार पनि बलियो भएकाले पार्टीकै मुख्यमन्त्री हुनुपर्ने बताएका थिए।
‘कर्णालीको मुख्यमन्त्री हामीले नै लिनुपर्छ,’ शर्माका भनाइ उद्धृत गर्दै एक पदाधिकारीले भने। जवाफमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्यसबारेमा सत्ता गठबन्धनमा रहेका दलहरूसँग छलफल भइहरेको र अझै निष्कर्षमा पुगिनसकेको बताएका थिए। पदाधिकारी बैठकअघि बालुवाटारमा सत्तारूढ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र प्रधामन्त्री प्रचण्डबीच छलफल भएको थियो।





