पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पदबाट राजीनामा दिएका छन्। बुधबार प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष मुख्यमन्त्री पाण्डेले राजीनामा बुझाएका हुन्।
मुख्यमन्त्री पाण्डेले बुधबार बिहान पदबाट राजीनामा दिएको मुख्यमन्त्रीका प्रेस संयोजक नरहरि सापकोटाले हाम्रोदेशलाई जानकारी दिए। मुख्यमन्त्री पाण्डेले राजीनामा दिनुअघि मन्त्रिपरिषद बैठक गरेका थिए। नेकपा (माओवादी केन्द्र) ले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि पाण्डे नेतृत्वको सरकार अल्पमतमा थियो। बहुमतका लागि गण्डकीमा ३१ जना सांसदको साथ चाहिन्छ।
मुख्यमन्त्री पाण्डे नेपाली कांग्रेस संसदीय दल नेता हुन्। गण्डकीमा कांग्रेस ठूलो दल हो। यहाँ कांग्रेसका २७ सांसद छन्। नेकपा (एमाले) का २२ र माओवादी केन्द्रका सभामुखसहित ८ सांसद छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई र नेकपा (एकीकृत समाजवादी) का एक सांसद छन्।





