काठमाडौँ : पर्वतको जलजला गाउँपालिका–२ स्थित मल्लाज दहमा चैत १९ मा दम्पतीको हत्या भयो।
६८ वर्षीय सूर्य बहादुर जि.सी र उनकी पत्नी ६५ वर्षीया गमला जि.सी मृत अवस्थामा भेटिएका हुन्। उनीहरूको घाँटी र टाउकोमा चोट लागेको छ। धारिलो हतियार प्रहार गरेर उनीहरूको हत्या भएको पर्वतका डीएसपी खुमलाल भुसालले बताए।
लुटपाट गर्ने उद्देश्यले उनीहरूको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ। हत्यामा संलग्नले सुर्यबहादुरले लगाएको सुनको औँठी तथा गमलाले लगाएको सिक्री र कानको रिङ लुटेर लगेका छन्। ‘लुटपाट गर्ने उद्देश्यले हत्या भएको देखिन्छ’ डीएसपी भुसाल भन्छन्–‘हामी अनुसन्धान गर्दै छौं।’हत्यामा संलग्न आरोपीहरू पक्राउ परेका छैनन्। सूर्य बहादुर दम्पतीले गाउँमा किराना पसल र मिल सञ्चालन गरेका छन्।
दुई छोरा दक्षिण कोरियामा छन्। एउटा छोराले म्याग्दीको बेनीमा फेन्सी पसल सञ्चालन गरेका छन्। हत्यामा प्रयोग भएको हँसिया प्रहरीले बरामद गरेको छ। उनीहरूको घरभन्दा करिब २० मिनेट माथि बस्ती छ।





