काङ्ग्रेसले मात्रै राष्ट्रियताको रक्षा गर्छ : कृष्ण सिटौला

२०८० चैत्र २५, आईतवार

झापा : नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राष्ट्रियता जोगाउने तागत काङ्ग्रेस बाहेक अरु पार्टीमा नभएको बताएका छन्। उनले जनताको हित काङ्ग्रेसमात्रै गर्न सक्ने जिकिर समेत गरे।

आफ्नो गृहनगर भद्रपुरमा शनिबार आयोजित नयाँ वर्ष २०८१ को शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेता सिटौलाले भने, ‘जनअधिकारको रक्षा र राष्ट्रियताको जगर्ना काङ्ग्रेसले मात्रै गर्छ ।’ नेपाल तरुण दल झापा क्षेत्र नम्बर ३ ले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले पार्टी प्रतिपक्षमा पुगेसँगै जनताको मनोबल उच्च बनाउने दायित्व काङ्ग्रेसकै काँधमा आएको बताए । राष्ट्रियसभामा काङ्ग्रेस संसदीय दलका नेता समेत रहनु भएका सिटौलाले बदलिँदो सत्ता समीकरण र मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा खासै बोलेनन ।

उहाँले जनताका सबैखाले अधिकार काङ्ग्रेसले केन्द्रदेखि गाउँसम्म पुर्‍याएको जिकिर गरे। नेता सिटौलाले संघर्षको धारमा उभिएर जनताको पक्षमा काम गरेको क्रान्तिकारी इतिहास काङ्ग्रेसको मात्रै भएको बताए। अत्यन्त संक्षिप्त मन्तव्य राख्नु भएको उनले मेची महाकालीका जनतालाई एकताको सुत्रमा गाँस्ने बेला आएको औल्याए। जनताको अधिकार रक्षाको लडाइँमा काङ्ग्रेसले सधैँ नेतृत्व गरेको उनले स्मरण गरे।‘कतिपय विषय र सन्दर्भमा काङ्ग्रेसले कमजोरी गरेको छ, गल्ती नै भएको छैन म भन्दिनँ ’ नेता सिटौलाले भने, ‘भएकोलाई भयो भन्न नसक्ने र नभएकोलाई भयो भन्ने गल्ती काङ्ग्रेसले कहिल्यै गर्दैन ।’

इलामको उपनिर्वाचनमा आ-आफ्नो ठाउँबाट खटिन झापा काङ्ग्रेसका नेताकार्यकर्तालाई उनले निर्देशन दिए । ‘तपाईंहरु आफ्नो खर्चमा इलाम जानुस्, चोकबजारमा बसेर नस्त खाएर नफर्कनुस् ’ उनले भने, ‘आफन्त, चिनेजानेका र साथीभाइलाई भन्नुस्, एकदुई मत थप्नुभयो भनेपनि त्यो पार्टीलाई योगदान हुन्छ ।’ गत आमनिर्वाचनमा इलाममा काङ्ग्रेस उम्मेदवारले ११४ मतले मात्रै हारेको हेक्का राख्न नेता सिटौलाले नेताकार्यकर्तालाई सुझाए।

कार्यक्रममा काङ्ग्रेस केन्द्रीय सदस्य सुशीला ढकाल, झापा सहसचिव कालेन्द्रप्रसादसिंह राजवंशी, क्षेत्रीय सभापति गणेश पोखरेल, कोशी प्रदेश सांसद भूमिप्रसाद राजवंशी, तरुण दलका केन्द्रीय सदस्य श्याम सिटौला, नेविसंघका केन्द्रीय सदस्य नारायण नेपाल, नेपाल महिला सङ्घकी क्षेत्रीय सभापति शर्मिला अधिकारी, तरुण दलका क्षेत्रीय सभापति खडग लिम्बु लगायतले नयाँ वर्ष, सिरुवा पावनी, इद, उभौली पर्वको शुभकामना दिएका थिए ।

सोही अवसरमा रक्तदान कार्यक्रम समेत गरिएको छ। ३० जनाले रक्तदान गरेको नेपाल रेडक्रस सोसाइटी कोशी प्रदेश कोषाध्यक्ष ओमप्रकाश गौतमले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार