अमेरिकामा गत महिनादेखि बेपत्ता भारतीय विद्यार्थी मृत फेला

२०८० चैत्र २७, मंगलवार

काठमाडौँ : अमेरिकामा अध्ययनरत २५ वर्षीय भारतीय विद्यार्थी मोहम्मद अब्दुल अराफात मृत फेला परेका छन्। गत महिनादेखि बेपत्ता अराफात ओहायोको क्लिभल्यान्डमा मृत फेला परेको अमेरिकास्थित भारतीय वाणिज्य दूतावासले जनाएको छ।

मंगलबार जारी विज्ञप्तिमा भनिएको छ, ‘न्युयोर्कस्थित वाणिज्य दूतावासले भनेको छ, ‘हामीले खोजी अभियान सञ्चालन गरेका मोहम्मद अब्दुल अराफात ओहायोको क्लभिल्यान्डमा मृत फेला परेको थाहा पाउँदा दुःख लागेको छ। उहाँको परिवारमा हाम्रो गहिरो समवेदना। मोहम्मद अब्दुल अराफातको मृत्युको बारेमा विस्तृत अनुसन्धान सुनिश्चित गर्न भारत स्थानीय निकायहरूसँग सम्पर्कमा छ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘हामीले उनको शव भारत ल्याउन शोकसन्तप्त परिवारलाई हरसम्भव सहयोग गरिरहेका छौँ।’

बीबीसी हिन्दीका अनुसार हैदराबादका २५ वर्षीय अब्दुल मोहम्मद अराफात सन् २०२३ मा अमेरिकाको क्लिभल्यान्ड विश्वविद्यालयमा स्नातकोत्तर गर्न गएका थिए। तर गत महिनादेखि उनी बेपत्ता भएका थिए।

उनका बुबालाई १२ सय डलर फिरौती माग्दै फोन आएको थियो।

मिडिया रिपोर्टका अनुसार अराफातका बुबाले मार्च ७ मा अन्तिम पटक उनीसँग कुरा गरेका थिए।

यो वर्ष अमेरिकामा धेरै भारतीय र भारतीय मूलका विद्यार्थीको मृत्यु भएको छ। अप्रिल ५ मा भारतीय कन्सुलेटले ओहायोमा भारतीय विद्यार्थी उमा सत्य साई गड्डेको मृत्यु भएको पुष्टि गरेको थियो।

मार्च १८ मा भारतीय विद्यार्थी अभिजीत परुचुरुको बोस्टनमा मृत्यु भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार