काठमाडौँ : उपराष्ट्रपति रामसहायप्रसाद यादवले सर्ने रोगको तुलनामा नसर्ने रोगले धेरै मानिस मृत्युवरण गर्न बाध्य भएकोमा चिन्ता व्यक्त गरे । उनिले मुटु रोग, क्यान्सर, उच्च रक्तचापको लहरमै आउने मधुमेहबाट मृत्यु हुनेको सङ्ख्या उच्च रहेकोमा चिन्ता व्यक्त गर्नुभएको हो ।
काठमाडौँमा आज ‘नेपाल डाइबिटिज’ संस्थाले आयोजना गरेको ‘डाइबिटिज नेपाल अन्तर्राष्ट्रिय सम्मेलन’ लाई सम्बोधन गर्नुहुँदै उनिले मधुमेह नियन्त्रणमा जोड दिए । “यो रोगलाई निर्मूल पार्न नसके पनि अनुशासित जीवन शैली, खानपान, शारीरिक व्यायाम, नियमित स्वास्थ्य जाँच र समयमै औषधि सेवन गरी नियन्त्रणमा राख्न सकिन्छ,” उनिले भने , “मधुमेह ‘क्रोनिक मेटाबोलिक’ रोग हो, जुन रगतमा ग्लुकोज (चिनी) को मात्रा उच्च स्तरमा पुगेपछि लाग्छ । समयमै यो रोगको पहिचान, निदान, व्यवस्थापन र रोकथाम गर्न नसके व्यक्तिको शरीरमा विभिन्न किसिमका जटिलता निम्त्याउन सक्छ ।”
नेपालजस्तो विकासोन्मुख देशमा जनताको राम्रो स्वास्थ्यमा पहुँच नहुनु र रोगको परीक्षण समयमा हुन नसक्नुले समस्या भएको उनिले बताए । “परीक्षणको अभावले गाउँघरमा मधुमेहबाट सङ्क्रमितको सङ्ख्या बढ्दै गएकामा चिन्तित छु,” उनिले भने , “शरीरमा प्यान्क्रियाजले पर्याप्त मात्रामा इन्सुलिनको उत्पादन गर्न छाडेपछि लाग्ने यो रोग तीन दशकयता विश्वमा नाटकीय रुपमा बढेको तथ्याङ्कहरुले देखाएको छ ।”
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को प्रतिवेदनअनुसार विश्वभर ४२ करोड २० लाख मानिसमा मधुमेह छ, जसमध्ये अधिकांश निम्न र मध्यम आय भएका देशहरुमा बसोबास गर्दछन् । यसैगरी, प्रत्येक वर्ष १५ लाख मानिसको मृत्यु मधुमेहकै कारणले हुने गरेको छ । उपराष्ट्रपति यादवले यी डरलाग्दा तथ्याङ्कहरुले मानिस आफ्नै स्वास्थ्यप्रति गम्भीर नरहेको उल्लेख गर्नुहुँदै सबैलाई आफ्नो शरीर र स्वास्थ्यप्रति सचेत, सावधान र गम्भिर बन्न आग्रह गरे । उनिले सीमित स्रोत र साधनका कारण स्वास्थ्य परीक्षण, परामर्श र औषधि उपचारका लागि ‘डाइबिटिज नेपाल’ जस्ता संस्थाहरु ग्रामीण भेगमा पुग्न जरुरी रहेको बताए ।
“सरकारले चाहेर पनि कतिपय काम गर्न नसकिरहेको अवस्थामा यस्ता सङ्घसंस्थाले गर्ने शिविरहरु महत्वपूर्ण हुन सक्छ,” उनिले भने , “सम्मेलनमा सहभागी सम्पूर्ण विशेषज्ञलाई स्वास्थ्यजस्तो महत्वपूर्ण विधामा आफूले प्राप्त गरेका ज्ञानलाई एकआपसमा बाँड्न सफलता मिलोस् ।” कार्यक्रममा धुलिखेल हस्पिटललाई ‘डाइबिटिज अचिभमेन्ट अवार्ड-२०२४’ समेत प्रदान गरिएको थियो ।





