१२ मन्त्रालय रहेको बागमतीमा भाग पुर्याउन १३ वटा बनाइयो

२०८१ जेष्ठ २, बुधबार

मकवानपुर : बागमती प्रदेश सरकारले मन्त्रालयको सङ्ख्या बढाएको छ । विनाविभागिय मन्त्री व्यवस्थापनको लागि प्रदेशमा कायम रहेको १२ मन्त्रालयलाई विभाजन गरी १३ वटा कायम गरिएको हो ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रालयको सङ्ख्या १३ पुर्याउने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री गंगा नारायण श्रेष्ठले जानकारी दिए । उनका अनुसार सत्ता गठबन्धन दल नेकपा एकीकृत समाजवादीबाट मन्त्री नियुक्त भएकी रमा आलेमगरलाई मन्त्रालय विभाजन गरी जिम्मेवारी तोकिएको हो ।मन्त्री आलेमगरलाई प्रदेशको सामाजिक विकास मन्त्रालय विभाजन गरी जिम्मेवारी तोक्ने निर्णय गरिएको उनले बताए । मन्त्री आलेमगरलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी तोकिएको उनको भनाई छ ।

मन्त्रालय विभाजनसँगै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट कर्मचारी व्यवस्थापन गर्ने र उपयुक्त स्थान हेरेर मन्त्रालय खडा गरिने प्रवक्ता श्रेष्ठले बताए । गत वैशाख २० गते मन्त्री नियुक्त भएकी आलेमगरले ४३ दिन पछि विभागीय जिम्मेवारी पाएकी हुन् । जिम्मेवारी पाएलगत्तै उनले मन्त्रालय व्यवस्थापन र बजेट तथा कार्यक्रम निर्माणमा भूमिका खेल्ने बताइन् । तत्कालका लागि भाडाको घर खोजेर मन्त्रालय खडा गरिने उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार