काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगीविरुद्ध सडक आन्दोलन गर्ने भएको छ। गृहमन्त्री रवि लामिछाने पनि ठगीमा मुछिएकाले पदमा बस्न नमिल्ने भन्दै कांग्रेसले सडक आन्दोलन गर्न लागेको हो।
साथै देशभरका सहकारी पीडितलाई संगठित गर्ने रणनीति पनि कांग्रेसले तय गरेको कांग्रेस केन्द्रीय कार्यसमितिका एक सदस्यले जानकारी दिए। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति र संसदीय दलको बैठक सानेपामा जारी छ।
बैठकस्थलबाट प्राप्त जानकारीअनुसार, कांग्रेसले सडक संघर्षअन्तर्गत प्रथम चरणमा शुक्रबार भृकुटीमण्डपबाट सुरु गर्ने र सहकारीपीडित बढी भएका सहरहरू पोखरा, चितवन, रुपन्देही हुँदै देशभर आन्दोलन गर्ने कार्यक्रम तय भएका छन्।





