काठमाडौं महानगरको कार्यपालिका बैठकमै मेयर र वडाध्यक्षबीच भनाभन

२०८१ जेष्ठ १८, शुक्रबार

काठमाडौं : न्युरोड क्षेत्रमा फुटपाथ विस्तारबारे काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह (बालेन) र वडा २२ का अध्यक्ष चिनीकाजी महर्जनबीच भनाभन भएको छ।

शुक्रबार भएको कार्यपालिका बैठकमा बोल्दै अध्यक्ष महर्जनले न्युरोड क्षेत्रमा भइरहेको कामबारे पत्रिकामा पढेर जानकारी पाएको बताएपछि प्रमुख बालेन र अध्यक्षबीच भनाभन सुरु भएको थियो। ‘देशकै एउटा पपुलर ल्यान्डमार्कमा सडक पेटी विस्तारबारे पत्रिका पढेर थाहा पाउनुपर्ने ? यस्तो किन भइरहेको छ,’ अध्यक्ष महर्जनले प्रश्न गरे। उनको प्रश्न नसकिँदै प्रमुख बालेनले वडा २४ मा काम भइरहेको भन्दै वडाको मागअनुसार काम भइरहेको र यसमा २२ वडाले चासो लिनुनपर्ने बताए।

‘तपाईंको वडाको बारेमा पत्रिका पढेर थाहा पाउनुभयो कि ! २४ वडामा ?’ बालेनले भने, ‘२४ वडाका वडाध्यक्षले फुटपाथमा मान्छेलाई हिँड्न गाह्राे भयो। सेक्सुअल ह्यारेसमेन्ट भयो। पाकेटमार भयो। हामीलाई फुटपाथ बढाइदिनुपर्‍याे भनेर माग गर्नुभयो, २४ वडामा फुटपाथ बढाउँदा तपाईंलाई के समस्या भयो ?’

प्रमुख बालेनले वडा २४ मा फुटपाथ बढाउँदा तपाईंलाई के भयो भनेर पटक–पटक अध्यक्षमाथि प्रतिप्रश्न गरे। प्रमुख बालेनको प्रतिप्रश्नको जवाफ दिँदै अध्यक्ष महर्जनले भने, ‘तपाईंलाई न्युरोडको भूगोलबारे जानकारी नभएको हो ?, न्युरोड भनेको २४ मात्र हो ?’

सडक विभागलाई नै कारबाही गर्ने प्रमुख बालेनको चेतावनी 

बैठकमा उनीहरूबीच सडक विभागले लेखेको पत्रको विषयमा समेत भनाभन भएको थियो। सडक विभागलाई महानगरले गर्न लागेको कामबारे पत्र काटेको १५ दिनसम्म जवाफ नदिएको र १५ दिनसम्म जवाफ नआउँदा मान्यसरह हुने हुनाले काम अगाडि बढाएको प्रमुख बालेनले बताए।

उनले न्युरोड क्षेत्रको सडक र फुटपाथ मापदण्डअनुसार नभएकाले मापदण्डमा ल्याउनका लागि काम भइरहेको बताए। ‘सहमति हुँदाहुँदै विभागले किन पत्र काट्यो ?’ अध्यक्ष महर्जनले फेरि प्रश्न गरे। सहमति गरेर पनि पत्र काट्छ भने त्यो गैरकानुनी भएको भन्दै प्रमुख बालेनले सडक विभागलाई नै कारबाही गर्ने बताए।

लामो समयसम्म प्रमुख र वडाध्यक्षबीच भनाभन भएपछि न्युरोड क्षेत्रमा फुटपाथ विस्तारको सम्भाव्यता अध्ययन गरी प्रतिवेदनले सुझाएअनुसार काम गर्न अन्य जनप्रतिनिधिले सुझाए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार