चितवन : नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले प्रचण्ड, माधव नेपालले एमालेलाई मियो मानेर नयाँ समीकरणमा आएका बताएका छन् ।
नेकपा एमाले चितवनको नयाँ निर्वाचित कमिटीको जिल्ला कमिटी बैठकलाई सम्बोधन गर्दै उपमहासचिव ज्ञवालीले एमालेले राष्ट्रभक्त पार्टी भएकोले देशमा आशा जगाउन अन्ततः सरकार निर्माणमा एमालेलाई मियो मान्नुपर्ने अवस्था आएको बताएका हुन् । ‘प्रतिशोधपूर्ण ढंगले एमालेलाई कहिल्यै नेतृत्वमा आउन नसक्ने गरी पछार्यौं भन्ने थियो’, उपमहासचिव ज्ञवालीले भने, ‘अन्ततः जनतामा छाएको निराशा हटाएर आशा जगाउन एमाले पार्टी चाहियो र प्रचण्डा माधव नेपालले एमालेलाई मियो मानेर नयाँ समीकरणमा आएका छन् ।’
उनले नेकपा एमाले वैचारिक परिवर्तनमा सफल भएको पनि दाबी गरेका छन् । उनले आफ्नो पार्टीलाई पुर्याउन मिल्नेसम्म पुछारमा दक्षिणपन्थी शक्तिले लगिसकेको बताउँदै एमाले बाउन्स ब्याकको चरणमा रहेको बताए ।
‘हामी पुग्नुपर्ने जति तल पुगिसकेका छौँ, अब बाउन्सव्याकको चरणमा छौँ’, उपमहासचिव ज्ञवालीले थपे, ‘हामी माथि लागिसकेका छौँ, अब तल झर्दैनौँ ।’





