
काठमाडौँ : मनसुन सुरु भएसँगै सिन्धुपाल्चोकबाट काठमाडौँ ल्याइएको मेलम्ची खानेपानी जुनसुकै बेला बन्द हुने भएको छ ।
मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले बर्सात धेरै भएर बाढी आउने अवस्थामा काठमाडौँ ल्याइएको खानेपानी बन्द हुने बताए । हाल आयोजनास्थल र त्यसभन्दा माथिको भागमा कर्मचारी राखेर २४ सै घण्टा बाढीको अवस्था हेरिरहेको र क्षति पुर्याउने खालको बाढी आउने अवस्थामा तत्काल पानी बन्द हुने उल्लेख गरे ।
लामिछानेले भने– ‘मेलम्ची आयोजनास्थलमा काठमाडौँतर्फ पानी ल्याउने मुहानसम्मको बाटो बाढीले बगाएको छ । मुहानस्थलमा पानीको मात्रा पनि बढिरहेको छ । केही गरेर माथिल्लो भागबाट बाढी आएर धमिलोपना बढ्यो भने जुनसुकै बेला पनि बन्द गर्नुपर्ने हुनसक्छ । यो दिनदेखि पानी बन्द हुन्छ भनेर मिति भने तोकेका छैनौँ । तर हामी आयोजनास्थलको नजिकै हाई अलर्टमा बसेका छौँ । हामीले २४ सै घण्टा मुहान क्षेत्रमा बाढीको निरीक्षणका लागि कर्मचारीहरू खटाइरहेका छौँ ।’ खानेपानी ल्याउने सुरुङको सुरक्षाका लागि बाढीको अवस्था हेरेर जुनसुकै बेला बन्द गरिने उनको भनाई छ ।
उनले काठमाडौँमा हाल दैनिक १७ करोड लिटर हाराहारी पानी आइरहेको बताए । बाढीको लेदो पसेको अवस्थामा सुरुङमा खतरा उत्पन्न हुने भएकोले जुनसुकै बेला पानी बन्द हुनसक्ने बताए । जहिलेसम्म पानी पठाउन सकिन्छ त्यसका लागि खटिइरहेको र कर्मचारी परिचालन गरिरहेको जानकारी दिए ।