
काठमाडौं : संघीय संसद सचिवालयका कर्मचारीहरूले विभिन्न ११ बुँदे मागसहित जारी राखेको आन्दोलनबारे सभामुखसहित शीर्ष नेताहरूबीच छलफल भएको छ। आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल र सभामुख देवराज घिमिरे र शीर्ष नेताहरूबीच छलफल जारी रहेको सभामुख घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए।
प्रधानमन्त्री पुष्पकमल दाहालसमेतको उपस्थितिमा बिहान साढे ८ बजेदेखि सुरु भएको बैठकमा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, अर्थमन्त्री वर्षमा पुन र कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी सहभागी रहेको अधिकारीले जानकारी दिए।
बैठकमा मुख्य सचिव डा. बैकुण्ठ अर्याल र संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेय पनि उपस्थित छन्। सभामुखले संसद सचिवालयका कर्मचारीको मागबारे सम्बद्ध पक्षहरूसँग केही दिनदेखि औपचारिक अनौपचारिक छलफल गरिरहेका छन्।
यसअघि असार ३ गते सभामुख, राष्ट्रिय सभा अध्यक्ष, उपसभामुखले दलका प्रमुख सचेतकहरूसँग गरेको छलफलमा संघीय संसद सचिवालयका कर्मचारीहरुले राखेको माग सम्बोधन गर्न पहल गर्ने सहमति भएको थियो। संसदका कर्मचारीहरू जेठ मसान्तदेखि अतिरिक्त कामको सेवा सुविधासहित विभिन्न माग राखेर आन्दोलनमा उत्रिएका थिए।