
काठमाडाैं : सरकारलाई दिएको समर्थन फिर्ता नलिई एमालेले राष्ट्रिय सहमतिको सरकार गठनका लागि राजीनामा दिएर मार्गप्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आह्वान गरेको छ । राजीनामा नदिए विश्वासको मत फिर्ता लिएर मन्त्रीहरूलाई सामूहिक राजीनामा दिन लगाउने एमालेको तयारी छ ।
एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्ने कांग्रेससँगको सहमतिपछि विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न मंगलबार बसेको केन्द्रीय सचिवालय बैठकले प्रधानमन्त्रीलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न आह्वान गर्ने निर्णय गरेको हो । मंगलबार बिहान प्रधानमन्त्री प्रचण्डलाई भेटेर पनि ओलीले मार्गप्रशस्त गर्न आग्रह गरेका थिए ।
‘राष्ट्रिय सहमतिको सरकार बनाउने प्रयोजनका लागि सहभागी हुन, सहयोग गर्न र सरकार बन्ने वातावरण निर्माणका लागि प्रधानमन्त्रीलाई मार्गप्रशस्त गर्न आह्वान गर्ने बैठकले निर्णय गरेको छ,’ बैठकपछि सञ्चारकर्मीहरूसँग एमाले उपमहासचिव प्रदीप ज्ञवालीले भने, ‘हामीले प्रधानमन्त्रीलाई सबभन्दा ठूला दुई दल एउटा निष्कर्षमा पुगेपछि मार्गप्रशस्त गर्नु र राष्ट्रिय सहमति बनाउने अभियानलाई सहयोग गर्नु वाञ्छनीय हुन्छ भनेर आग्रह गर्यौँ । उहाँले अब अवश्य पनि विवेक पुर्याउनुहुनेछ भन्ने विश्वास छ, त्यस्तो गर्नुभएन भने के गर्ने थप छलफल गर्नेछौँ ।’
प्रधानमन्त्री प्रचण्डले राजीनामा दिए मात्र चाँडो सरकार गठन हुन सक्छ । नत्र संवैधानिक व्यवस्थाअनुसार विश्वासको मत प्रक्रिया टुंगिएपछि मात्रै नयाँ सरकार गठनको आह्वान हुनेछ । १० पुसमा गठन भएको सरकारको अवधि दुई वर्ष नपुगेकाले अविश्वास प्रस्ताव पनि ल्याउन मिल्दैन । सत्तासाझेदार एमालेले समर्थन फिर्ता लिएमा प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । विश्वासको मत लिनका लागि प्रधानमन्त्रीले मिति तोकेर समय मिलाइदिन सभामुखलाई चिठी लेख्छन् । त्यही दिन संसद्मा भोटिङ हुन्छ ।
सचिवालय बैठकमा पार्टीको पछिल्लो निर्णयअनुसार २४ घण्टाभित्र प्रधानमन्त्रीले राजीनामा नदिए विश्वासको मत फिर्ता लिएर मन्त्रीहरूलाई फिर्ता बोलाइने अध्यक्ष ओलीले जानकारी गराएका थिए । त्यस्तै, बैठकले एमालेको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउने, कार्यकाल आधा–आधा गर्नेसहितको कांग्रेससँग भएको सातबुँदे सहमतिलाई स्वागतसहित समर्थन गर्दै अनुमोदन गरेको छ ।