बेचन झाको अनुसन्धान नसकी काठमाडौँ प्रमुख नफेरिने

२०८१ श्रावण ३, बिहीबार

काठमाडौँ : गृहमन्त्री रमेश लेखकले काठमाडौँ प्रहरी प्रमुख वसन्त रजौरेलाई भने तत्कालै सरुवा नगर्ने भएका छन्।

नक्कली भुटानी शरणार्थीको मुद्दामा बेचन झालाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएका एसएसपीलाई सरुवा गर्दा आलोचना हुने भएकाले यो मुद्दाको अनुसन्धान नटुंगिइ उनलाई सरुवा नगर्ने गृहमन्त्रीको तयारी रहेको स्रोतको दाबी छ।  बेचन झामार्फत कांग्रेसकै उच्च नेतासम्म यो मुद्दा जोडिने यसअघिका प्रतिवादीहरुले बयान दिएका थिए। उनीहरुकै बयानका आधारमा पक्राउ परेका झालाई ६० दिनसम्म हिरासतमा राखेर प्रहरीले अनुसन्धान गर्न सक्छ। झा असार १५ गते पक्राउ परेका हुन्।

उनीमाथि अनुसन्धान गरिरहेका रजौरेलाई रवि लामिछानेले नै काठमाडौँ प्रहरी प्रमुखको जिम्मेवारी दिएका थिए। उनीसँगै सरुवा भएर काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सानुराम भट्टराईको पनि अहिले नै सरुवा नहुने भएको छ। भट्टराई प्रधानमन्त्री ओलीकै चाहनामा उक्त कार्यालयमा पुगेका हुन्।

तर रजौरेलाई सरुवा गर्न केही समय कुर्ने र उनीमार्फत नै शरणार्थी प्रकरणको अनुसन्धान टुंग्याउने तयारी गृहको छ। यसअघि लामिछानेले वैशाखको दोस्रो साता ६ एसएसपीको जिम्मेवारी हेरफेर गर्दै रजौरेलाई काठमाडौं प्रमुखको जिम्मा दिएका थिए। लामिछानेले त्यतिबेला भूपेन्द्र खत्रीलाई काठमाडौँबाट र अपराध अनुसन्धान कार्यालयबाट सोमेन्द्र सिंह राठौरलाई पनि सरुवा गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार