काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार छाड्दै गर्दा आफूहरू विजयी मुडमा भएको बताएका छन्। प्रतिनिधिसभाको सबैभन्दा दुई ठूला दल मिले पनि कसैले समर्थन नगरेको उनको जिकिर छ।
खुमलटारमा पार्टीका नेता तथा कार्यकर्ताहरुसँगको बुधवारको भेटमा उनले भने, ‘देशभरि मैले सुनेको छु, हामी सरकार छाड्दै गर्दा विजयी मुडमा छौँ, हामी जितेको जस्तो, हामी आक्रामक भएर प्रस्तुत हुने ठाउँ छ। हाम्रो मनोबल उच्च छ। दुई वटा ठूला ठूला पार्टी मिलेर १९४ सीट ल्याएकाहरुको हालत हेर्नुभयो भने पूरै रक्षात्मक, कहीँ कसैको समर्थन पनि छैन।’
उनले आफू नेतृत्वको सरकारले जनताको पक्षमा राम्रो काम गरेकै कारणले सामाजिक सञ्जालमा गाली गर्नेको संख्या घटेको सुनाए। उनले थपे, ‘साथीहरूको कुरा सुन्दै छु सामाजिक सञ्जालमा हामीलाई गाली गर्नेहरू संख्या ह्वात्तै घटेको छ। यो नयाँ सरकारप्रति जनताको कुनै आशा भरोषा बिल्कुल छैन। यो हाम्रो लागि संगठन बलियो बनाउने अवसर हो। त्यसैले युवा साथीहरूले आआफ्नो ठाउँबाट बल गरौँ। संगठनलाई बलियो बनाउने कुरामा आआफ्नो ठाउँबाट मेहनत गर्नुहोला।’